अमेरिकी राष्ट्रपति ट्रम्प र कोरियाली नेता किमबीच सिंगापुरमा वार्ता

114

सिंगापुर, जेठ २९ (एजेन्सी) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा वार्ता भएको छ । बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिंगापुर पुगेका दुवै नेताले तोकिएकै समयमा स्थानीय समयानुसार बिहान ९ बजे भेटवार्ता गरेका हुन् । उत्तर कोरियाका प्रमुख नेताले अमेरिकी राष्ट्रपतिलाई भेटेको यो नै पहिलो अवसर हो ।


शिखर वार्ताअघि सेन्तोसा द्विपको सुविधासम्पन्न पाँचतारे होटल कापेलामा उनीहरुले हात मिलाएका थिए । दुवै राष्ट्रका झण्डा टाँगिएको स्थानमा हात मिलाएपछि किम र ट्रम्प होटलको पुस्तकालयमा बसेर केहीबेर भलाकुसारी गरेका थिए । नेता किमले अंग्रेजी भाषा कम मात्रै बुझ्ने भएकोले दुवै नेताका बीचमा लामो भलाकुसारी भने भएन । भेटका क्रममा दुवै नेता हर्षित मुद्रामा देखिन्थे ।

प्रारम्भिक भेटपछि दुवै नेता सामुहिक वार्तामा बस्नेछन् । सामूहिक भेटवार्तापछि दुवै नेताबीचमा एक्ला–एक्लै भेटवार्ता हुनेछ । एक्ला–एक्लै भेटवार्तामा उनीहरु बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् । शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम तथा क्षेप्यास्त्र परिक्षणलाई समाप्त गर्न निश्चित प्रक्रियाको सुरुवात गर्नेमा अमेरिका आशावादी रहेको छ ।

पछिल्लो १८ महिनादेखि रहँदै आएको तनाव तथा आरोप–प्रत्यारोपलाई पन्छ्याउँदै दुवै नेता ऐतिहासिक भेटवार्ताका लागि आमने–सामने भएका हुन् । यसैबीच शिखर वार्ता लगत्तै राष्ट्रपति ट्रम्प अमेरिका फर्किने भएका छन् ।

Womui
Womui