‘चाचाजी’को नागरिक अभिनन्दनको तयारी पुरा

139
  • बेलुका ५ बजे रथारोहन, सहभागिताको लागि सबैलाई आब्हान

नेपालगन्ज, जेठ २८-
प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को नेपालगन्ज मंगलबार (आज) नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा सम्पुर्ण नेपालगन्जबासीको तर्फबाट ८९ वर्षिय ‘चाचाजी’को नागरिक अभिनन्दन गर्न लागिएको हो । प्रेस युनियनले सोमबार पत्रकार सम्मेलन गरेर नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।

चाचाजीको नागरिक अभिनन्दनमा भोली बेलुका ५ बजे स्थानीय त्रिभुवन चोक पुर्वलाईनमा सक्रिय सहभागी भएर सम्मान प्रकट गर्न सबैलाई उनले आब्हान गरे । प्रेस स्वतन्त्रता सेनानी चाचाजीले पत्रकारिता मार्फत लोकतन्त्र र समाजलाई पुर्याएको योगदानका लागि चाचाजीलाई अभिनन्दन गर्न लागिएको शाहले बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पन्नालाल चाचाजीको सादगी जीवनको जति प्रशंसा गरेपनि कम हुने भन्दै नागरिक अभिनन्दनलाई उद्योग वाणिज्य संघले अपनत्व लिएको बताए । ‘सादगी जीवनशैली भएका चाचाजीको नागरिक अभिनन्दनलाई ऐतिहासिक बनाउन सम्पुर्ण नेपालगन्जबासीको सहभागिता हुनुपर्छ,’ उनले भने ‘उद्योग वाणिज्य संघमा आवद्ध रहनु भएका सम्पुर्ण उद्योगी, व्यवसायीलाई नागरिक अभिनन्दनमा सहभागी हुने म अनुरोध गर्दछु ।’

नेपाल पत्रकार महासंघका पुर्वमहासचिव पोषण केसीले पत्रकारिता गरेर समाज र राष्ट्रका लागि योगदान गरेका चाचाजी जस्ता व्यक्तित्वलाई नागरिक अभिनन्दन गर्ने सम्भवत त नेपालगन्जबासी मुलुककै पहिलो हुन पुगेको बताए । चाचाजी पत्रकार भएको नाताले नागरिक अभिनन्दनमा बाँकेका सम्पुर्ण पत्रकार अनिवार्य सहभागी हुनुपर्ने र अन्य अन्य पेशाकर्मी तथा नेपालगन्जबासीले पनि सहभागीता जनाएर सफल पार्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ प्रदेश पाँचका महासचिव भेषराज बस्नेतले नागरिक अभिनन्दनको अगुवाई प्रेस युनियनले गरेपनि सबै लागेर सफल पार्नुपर्ने बताए । उनले भने, ‘पत्रकारतारि क्षेत्रको मात्र नभएर सिंगो नेपालगन्जबासी र बाँकेबासीका लागि दायित्वको हो, नागरिक अभिनन्दनमा सक्रिय सहभागीता जनाउन सम्पुर्ण पत्रकारलाई आब्हान गर्दछु ।’

पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले चाचाजी सबैका साझा व्यक्ति भएको बताउँदै महासंघका सम्पुर्ण सदस्यलाई सक्रिय सहभागिता जनाउन आब्हान गरे । ‘पत्रकार महासंघ बाँकेले सम्पुर्ण सदस्यलाई भोलीको कार्यक्रममा सहभागी हुन अनुरोध गर्दछु,’ उनले भने । चाचाजीको नागरिक अभिनन्दनले पत्रकारिता ईतिहासमै एउटा नजिर बस्ने बताउँदै अध्यक्ष थारुले भने, ‘कम्तिमा पत्रकारितामा लागेका व्यक्तिले पनि यति ठुलो सम्मान पाउँदो रहेछ भन्ने नजिर जसरी बस्दैछ, त्यो प्रेस युनियनले सुरुवात गरेको छ, महासंघले पनि नागरिक अभिनन्दनलाई आफ्नै कार्यक्रमका रुपमा लिएको छ ।’

नागरिक अभिनन्दनमा सहभागी हुन महासंघले सोमबार नै सम्पुर्ण पत्रकारलाई अपिल गरेको छ । महासंघका सचिव तिलक गाउँलेले विज्ञप्ती जारी गरेर प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार ‘चाचाजी’को मंगलबार बेलुका ५ बजे नेपालगन्जस्थित त्रिभुवन चोक नजिकबाट सुरु हुने नागरिक अभिनन्दनमा सहभागिता हुन बाँकेका सम्पुर्ण पत्रकार, अधिकारकर्मी, उद्योगी, व्यवसायी, शिक्षक, वुद्धिजिवी लगायत सम्पूर्ण बाँकेबासीलाई अपिल गरेका छन् ।
पत्रकार सम्मेलनमा उच्च अदालत नेपालगन्ज बार एशोसियशनका अध्यक्ष बलबहादुर चन्द, प्रेस चौतारी बाँकेका सचिव कमल डाँगी, प्रेस सेन्टर बाँकेका उपाध्यक्ष कृष्ण ओली लगायतले नागरिक अभिनन्दन कार्यक्रममा आफ्नो संस्था र संगठनबाट सम्पुर्ण सदस्यलाई सक्रिय सहभागिता गराउने प्रतिबद्धता जनाए ।

नागरिक अभिनन्दनका लागि पत्रकारिता सम्वद्ध संघ, संस्थाहरु नेपाल पत्रकार महासंघ, प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँके समेतले यसअघि नै ऐक्यवद्धता जनाईसकेका थिए । मंगलबार बेलुकी ५ वजे त्रिभुवन चोक पूर्वलाइनस्थित चाचाजीको निवास अगाडीवाट सम्मान ¥याली सुरु हुने युनियन बाँकेका सचिव अर्जुन ओलीले जानकारी दिएका छन् । निर्धारित समयमा सुरु भएर निर्धारित समयमा नागरिक अभिनन्दन कार्यक्रम समापन हुने भएकाले समयमै उपस्थित हुन सबैलाई उनले आग्रह गरेका छन् । चाचाजीलाई रथारोहन गराई नगर परिक्रमा गरिसकेपछि विशेष समारोह आयोजना गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

 

Womui
Womui