अपहरणमा परेका बालकको हत्या

91

छिनछिन खबर
रौतहट, जेठ २८ । रौतहटको कटहरीया– ९ बाट अपहरणमा परेका १३ वर्षी बालक युवराज साहको गोली हानी हत्या गरेको अवस्थामा शव फेला परेको छ । गत शनिवार राति अपहरणमा परेका उनको कटहरीया नगरपालिकाभन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका– ५ को बाग्मती नदी किनारमा सोमबार बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

कटहरीया– ९ डुमरिया टोलका चिकित्सक दिलीप साहको छोरा युवराज शनिवार राति घरमा सुतिरहेकै अवस्थामा हराएका थिए । परिवारका सदस्यहरुसँगै सुतेका युवराजलाई अज्ञात समूहले ओछयानबाटै लगेका थिए ।
बालक अपहरणमा परेपछि अपहरणकारीले बालकका बाबुको मोबाइलमा फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए । अपहरणकारीले १ करोड रुपैयाँ मागेको भोलिपल्ट नै बालकको शव परेको हो ।

बालक हराएको खबर पाएलगत्तै खोजतलासमा जुटेको प्रहरीले सोमबार युवराजको शव फेला पारेको थियो । बालकको कन्चटमा एक गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिकाका विनोद कुमार पटेल, रवी कुमार पटेल, कटहरीया ९ डुमरियाका प्रविण राय यादव, शक्ति राय यादव र सुनिल कुमार यादव रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका पाँचै जनासँग घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Womui
Womui