गोर्खा सैनिकको सुरक्षामा ट्रम्प–किम वार्ता

109

काठमाडौं, जेठ २२ (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ बहुप्रतिक्षित वार्तामा सुरक्षाको जिम्मेवारी गोर्खा सैनिकले पाएको छ । आगामी मंगलबार सिंगापुरमा हुने वार्ताका लागि सिंगापुरमा कार्यरत गोर्खा सैनिकले सुरक्षा प्रदान गर्ने भएका हुन् । यद्यपि दुबै नेतासँग व्यक्तिग सुरक्षा भने रहनेछन् ।

जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने अमरेकी राष्ट्रपतिको कार्यालय हृवाइट हाउसले बताएको छ ।
वार्तास्थल, सडक र होटलको सुरक्षा सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो । यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा साङ्ग्रिला होटलको सुरक्षा गोर्खा सैनिकले नै गरेका थिए ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन् ।
‘उनीहरु सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी हुन् र उनीहरु सम्मेलनमा सहभागी हुनेमा म निश्चित छु’ इन्टरनेसनल इन्ष्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) सिंगापुरको सुरक्षा बल विज्ञ टिम हक्सलीले भने ।

उनले अघि भने, ‘उनीहरु धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा चिनिन्छन् र यस्तो खालको कार्यक्रमहरुको व्यवस्थापन गर्न गोर्खाहरुले विशेष रुपमा तालिम पाएका हुन्छन् ।’

सिंगापुर प्रहरीका प्रवक्ताले कति सङ्ख्यामा गोर्खाहरु खटाइनेछन् भन्ने बारेमा भने प्रतिक्रिया दिन चाहेनन् । आइआइएसएस मिलिटरी ब्यालेन्सका अनुसार ६ प्यारामिलिटरी कम्पनीमा गरी १८ सय गोर्खा सिंगापुर प्रहरीमा कार्यरत छन् । ब्रिटिस औपनिवेशिक कालको इतिहास र हालको सिंगापुरको व्यवहारिक नेतृत्वको एक हिस्साको रुपमा रहेका गोर्खाहरु बेलायती परम्परासँग जोडिएका छन् । जसअनुसार नेपाली सैनिकहरुलाई दुई सय वर्षदेखि विशेष फौजको रुपमा भर्ती गरिएको छ ।

१९ औं शताब्दीको नेपाल–अङ्ग्रेज युद्धमा बेलायती सेना धेरै ठाउँमा नेपाली सैनिकहरुबाट पराजित भएको थियो । उनीहरुको वीरता र युद्धकौशलबाट प्रभावित भएपछि औपनिवेशिक बेलायतीहरुले उनीहरुलाई आफ्नो सेनामा भर्ती गराउन थाले ।

अहिले गोर्खा सैनिकहरु नेपाल, भारत, बेलायती सेनाको साथै सिंगापुर र ब्रुनाइमा समेत कार्यरत छन् । गोर्खा सैनिकले दुवै विश्वयुद्ध, फकल्याण्ड युद्धको साथै हालसालै अफगानिस्तानमा समेत लडाइमा भाग लिएका छन् ।

Womui
Womui