प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्डमा बाँके प्रथम

105

नेपालगन्ज, जेठ २०-
प्रदेश नम्बर ५ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाँके जिल्ला प्रथम भएको छ । नेपालगन्जमा आइतबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ६ रजत र १० काँस्य पदक गरि कुल २९ पदक ल्याएर पहिलो भएको हो । त्यसैगरी १० स्वर्ण, ९ रजत, ७ काँस्य गरि कुल २६ पदक ल्याउँदै बर्दिया दोस्रो तथा ६ स्वर्ण, १० रजत र १ काँस्य गरि कुल १७ पदक ल्याई रुपन्देही तेस्रो भएको छ ।

प्रतियोगिताका विजयी खेलाडीलाई क्षेत्रीय अध्यक्ष भीम ओली, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, प्रहरी तालिम केन्द्र नेपालगन्जका निमित्त समादेशक चिन्तामणी बुढाथोकी, सशस्त्र प्रहरी नायब उपरिक्षक जिवन भट्टराई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, जिल्ला खेलकुद बिकास समितिका अध्यक्षहरु लगायतले पुरस्कार, प्रमाणपत्र, शिल्ड तथा ट्रफी वितरण गरेका थिए ।

यस प्रतियोगिताबाट छनोट हुने खेलाडी आगामी जेष्ठ २३ गतेदेखि काठमाडौंमा संचालन हुने केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । नेपाल संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश स्तरीय प्रतियोगिता आयोजना भएको हो । प्रदेश नम्बर ५ अन्तरगत रहेका १२ जिल्लाका ९४८ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कपर्दी, कराते, तेक्वान्दो र उसुका खेल समावेश गरिएको थियो ।

Womui
Womui