मुद्दा चल्दाचल्दै बालकृष्ण ढुंगेल रिहा

95

छिनछिन खबर

काठमाडौं, जेठ १५ । द्वन्द्वकालमा निहत्था सर्वसाधारणलाई हत्या गरेको मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल मंगलबार जेल मुक्त भएका छन् । तत्कालीन माओवादीका नेतासमेत रहेका ढुंगेल गृहमन्त्रालयको सिफारिसमा रिहा भएका हुन् । सरकारले उनलाई रिहा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेलगत्तै सर्वोच्च अदालतमा मुद्दा परेको छ ।


४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रावधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स्वीकृत गरेकी थिइन् । ढुंगेल डिल्ली बजार कारागारमा रहँदै आएका थिए । गणतन्त्र दिवसका अवसरमा ढुंगेलसहित ८ सय १६ कैदी जेलमुक्त भएका हुन् ।

ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा जिल्ला अदालतको फैसलाअनुसार ढुंगेल द्वन्द्वकालमै साढे सात वर्ष जेल बसेका थिए ।

Womui
Womui