नेपालगन्ज–दिल्ली उडान सुरु गर्दै बुद्ध एअर

135

छिनछिन खबर
काठमाडौँ, जेठ १३ । निजी हवाई कम्पनी बुद्ध एअरले नेपालगन्ज–दिल्ली उडान सुरु गर्ने भएको छ । नेपालगन्ज र पश्चिम नेपालका बासिन्दाले लामो समयदेखि गर्दै आएको माग बुद्ध एअरले पूरा गर्ने भएपछि सबैलाई हर्षित तुल्याएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले केही महिनामै नेपालगन्ज–दिल्ली उडान सुरु हुने जानकारी दिए । दिल्ली उडान गर्नका लागि सोमवार बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिने बस्नेतले बताए । भारतीय पक्षले भने नेपालगन्ज–दिल्ली उडानका लागि स्वीकृति दिइसकेको जनाइएको छ ।

कैलाश मानसरोवर तीर्थ यात्राका लागि नेपालगन्ज विमानस्थल ट्रान्जिट प्वाइन्ट हो । नेपालगन्जको विमानस्थल प्रयोग गरेर मानसरोवर जाने पर्यटक र तीर्थयात्रीमा सबै भन्दा धेरै भारतीय नागरिक छन् । नेपालगन्ज–दिल्ली सिधा उडानले भारतीय पर्यटकको आगमण बढ्ने विश्वास लिइएको छ ।

काठमाडौं विमानस्थलपछि ब्यस्त बिमानस्थलका रुपमा रहेको नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थानीय स्तरबाट माग भइरहेको बेला बुद्ध एअरले उक्त घोषणा गरेको हो । हाल स्थलमागर्बाट नेपालगन्ज हुँदै कैलाश मानसरोबर करिब ५० हजार भारतीय नागरिक जाने गरेका छन् ।

बुद्ध एअरको नेपालगन्ज–दिल्ली हवाई उडान एक घण्टाको हुनेछ । उक्त उडानले पर्यटकलाई मात्र नभई भारतमा उपचार गर्न जाने र भारतमा काम गरेर फर्कने नेपालीलाई समेत सेवा पुग्नेछ । नेपालगन्ज–दिल्लीको हवाई भाडा चाँडै तोकिने बुद्ध एअरले जनाएको छ ।

Womui
Womui