वैदेशिक रोजगार पीडित उजुरी मात्रै गर्छन्, पाउँदैनन् क्षतिपूर्ति

313

छिनछिन खबर
काठमाडौं, जेठ १० । वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै उजुरी पर्ने क्रम निकै बढे पनि पीडितले न्याय पाउन क्रम भने घटेको छ ।
सहज रोजगारीका गुलिया नारा लगाउँदै विदेश पठाइएका युवायुवतीले ठगीमा परेको भन्दै महिनैपिच्छे आठ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति माग्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्ने क्रम जारी छ ।


चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैतसम्म) वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै विभागमा एक हजार पाँच सय ८७ पीडितले उजुरी दिएका छन् । ती उजुरीमा मेनपावर र एजेन्टले विभिन्न प्रलोभन देखाएर ७८ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको उल्लेख छ । विभागमा दर्ता भएका उजुरीमध्ये मेनपावरद्वारा ठगीमा परेका सात सय ६९ छन् । त्यस्तै एजेन्टले ठगी गरेको भन्दै आठ सय १८ उजुरी दर्ता भएका छन् । नौ महिनाको अवधिमा विभागमा परेको दावीलाई आधार मान्दा हरेक महिना आठ करोड ६६ लाख रुपैयाँको हाराहारीमा वैदेशिक रोजगारीको प्रलोभनमा ठगी हुने गरेको छ ।

वैदेशिक रोजगारीका लागि नेपालबाट १ सय आठ मुलुकमा (हाल दुई देश बन्द) श्रम स्वीकृति लिँदै कामदार बिदेसिने गर्छन् । जसमध्ये धेरैजसो खाडी मुलुक र त्यसमा पनि साउदी अरेबिया, मलेसिया जस्ता देशमा जान खोज्ने बढी ठगिएको बताइन्छ । नौ महिनाको अवधिमा विभागले व्यक्तिगत ठगीतर्फका एक सय ५६ वटा उजुरीका छिनोफानो लगाएको छ भने एक सय ४३ वटा उजुरी अदालतमा दायर गरेको छ ।

व्यक्तिगत ठगीका उजुरी गर्ने ६ सय ५७ कामदारले विभागमा ५४ करोड २२ लाख रुपैयाँ भन्दा बढीको दाबी पेस गरेका छन् । विभागले भने ती उजुरीमा १२ करोड १० लाख रुपैयाँ मात्र पीडितलाई दिलाउन सकेको छ । यसैगरी अदालतमा दायर भएका व्यक्तिगत ठगीतर्फकै उजुरीमा १८ करोड रुपैयाँ भन्दा बढीको विगो दाबी गरिएको कर्मचारी बताउँछन् ।

यसैगरी मेनपावरबाट ठगीमा परेको भन्दै उजुरी गर्ने कामदारमध्ये एउटा पनि उजुरी अदालतमा पेस गर्ने नपरेको अधिकारी बताउँछन् । मेनपावर र एजेन्टले ठगी गरेको भन्दै ७८ करोड रुपैयाँ भन्दा बढी दावी गरिए पनि विभागले भने १६ करोड रुपैयाँ मात्र पीडितलाई क्षतिपूर्ति दिलाउन सकेको छ ।

Womui
Womui