‘बघौडा अब विकट रहँदैन, मुहार फेरिन्छ’ : मुख्यमन्त्री पोखरेल

202

बाँके (नरैनापुर), वैशाख २३-
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बघौडा भनेर चिनिने बाँकेको विकट नरैनापुर क्षेत्रको मुहार फेर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । नरैनापुर गाउँपालिकाले आइतबार गरेको स्वागत कार्यक्रममा गाउँपालिकाका तर्फबाट अध्यक्ष इस्तियाक अहमद साहले बुझाएको ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले बघौडा अब फेरिने र मुख्यमन्त्रीका हैसियतले आफूले त्यसको अगुवाई गर्ने प्रतिवद्धता जनाए । ‘पीडा र विरहका गीत गाएर बस्ने दिन सकिन थाल्यो, अब समृद्धिको बाटो तय गर्ने संकल्प बोकेर अघि बढ्नुपर्दछ,’ पोखरेलले भने ।  ‘बघौडामा छिट्टै बत्ती बल्छ, तपाईंहरु ढुक्क हुनुहोस्, केन्द्रले नगरे अब हामीले गर्छौैं,’ उनले भने ।

शिक्षा नै वृत्ति विकासको आधार भएकाले आफ्ना बालबालिकालाई बिद्यालय भर्ना गरेर साक्षर बनाउने अठोट लिन अभिभावकहरुलाई उनले आह्वान गरे । मुस्लिम समुदायमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने मान्यता अझैं स्थापित हुन नसकेकाले चुनौति रहेको उनको भनाई थियो । राप्ती नदीको बाढीको कहरबाट प्रताडित नरैनापुरबासीलाई सुरक्षित राख्न राप्ती नदीको दायाँ बायाँ दुबैतिर तटबन्ध गर्ने कार्यलाई प्रदेश सरकारले कार्यसूचीमा राखिसकेको जानकारी मुख्यमन्त्रीले दिए ।  बाढीबाट बच्न एकीकृत बस्ती विकासको अबधारणासहित खेतीपातिका लागि छुट्टै क्षेत्र छुट्याइनुपर्ने उनको भनाई छ ।

निर्माणाधीन हुलाकी राजमार्गलाई यथाशिघ्र सम्पन्न गर्न प्रदेश सरकारले घच्घच्याउने मुख्यमन्त्री पोखरेलले आश्वस्त पारे । लक्ष्मणपुर बाँध र नेपाल भारत सीमामा भारतले पछिल्लो समय बनाएको बाँध जस्तो सडकका कारण बढेको डुबानको जोखिम हटाउन भारत सरकासँग कुटनीतिक पहल भइरहेको उनले जानकारी दिए ।  गाउँपालिकाले बुझाएको ज्ञापनपत्रमा विद्युत समस्या समाधान, बाढी पीडितको पुर्नस्थापना, प्राविधिक शिक्षालय स्थापना, सीमामा भारतले बनाएको बाँधजस्तो सडक, राप्ती पुुलदेखि पूर्वतर्फको १ किलोमिटर क्षेत्रमा अर्को पक्की पुल निर्माण लगायतका माग समेटिएका गाउँपालिका अध्यक्ष साहले बताए ।  स्वागत कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक, प्रदेश सभा सांसद् कृष्णा केसी नमुना र पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवले अभाव र पीडामा बाँचिरहेको नरैनापुरको विकासका लागि मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराउँदै विकासका लागि जनताको जागरुकता पनि चाहिने उल्लेख गरे ।

          बाँधजस्तो सडक निरिक्षण
मुख्यमन्त्री पोखरलले आजै नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयास्थित नेपाल भारत सीमामा भारतले एकतर्फीरुपमा बनाएको बाँधजस्तो सडकको पनि निरिक्षण गरेका छन् । निरिक्षण गर्दै मुख्यमन्त्री पोखरेलले समस्या समाधानका लागि भारत सरकारसँग कुटनीतिक पहल गरिने बताए । मुख्यमन्त्री पोखरेलले लक्षमणपुरस्थित तत्कालीन मुस्लिम धर्मगुरु स्वर्गीय खलिफा नुर अहमद शाहको मजार सरिफमा माल्यार्पण गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष साहले जानकारी दिए ।

Womui
Womui