चाचाजी’को नागरिक अभिनन्दनको ब्यापक तयारी

44

नेपालगन्ज, बैशाख २०-
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को नागरिक अभिनन्दनका लागि ब्यापक तयारी सुरु गरिएको छ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा आगामी जेठ १८ गते नागरिक अभिनन्दन गर्न लागिएको हो । सोही कार्यक्रमका लागि बुधबार प्रेस युनियन सम्वद्ध अगुवा पत्रकारसँग छलफल गरियो । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको छलफलमा बोल्ने अगुवा पत्रकारले प्रेस स्वतन्त्रता सेनानी गुप्तको अभिनन्दन सफल पार्न नेपालगन्जबासी, नागरिक समाज, बुद्धिजिवी, ब्यापारी, बिद्यार्थी, शिक्षक, पत्रकार लगायत सबैले अपनत्व लिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यले अभिनन्दनमा सबैको सहभागितालाई ब्यापक गराउनुपर्ने सुझाव दिए । ‘पन्नालाल चाचाजी यस्तो ब्यक्तित्व हुनुहुन्छ, जसको योगदान पत्रकारिता क्षेत्रमा मात्र सिमित छैन, उहाँको योगदान प्रजातन्त्र प्राप्तिको आन्दोलन र सामाजिक काममा पनि उत्तिकै छ,’ कर्माचार्यले भने । यस्ता ब्यक्तित्वलाई अभिनन्दन गर्नु सकारात्मक कुरा भएको कर्माचार्यले बताए । अभिनन्दनमा जिल्लामा क्रियाशिल सामाजिक तथा पेशागत संघ, संगठन तथा नेपालगन्ज उपमहानगरपालिका र जिल्ला समन्वय समितिलाई पनि सामेल गर्नुपर्ने सुझाव दिए ।

सो क्रममा प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसी, पत्रकार महासंघ प्रदेश पाँचका सचिव शुक्रऋषि चौलागाई, महासंघ बाँकेका पुर्वअधयक्ष निरज गौतम, युनियनका पुर्वकेन्द्रिय सदस्य दामोदर भण्डारी, युनियन बाँकेका निर्वतमान अध्यक्ष एवम् सल्लाहकार नरेन्द्र थापा, क्षेत्रीय सञ्चार स्रोत केन्द्रका प्रमुख मो. आरिफ अन्सारी, पत्रकार कमल खत्री, प्रभात देवकोटा, बिमल चन्द, नवीन गिरी, चेतकान्त भट्टराई, प्रियास्मृती ढकाल लगायतले सुझाव दिएका दिए । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरको विशेष उपस्थिती रहेको उक्त छलफलमा सहभागीलाई सम्बोधन गर्दै युनियन बाँकेका अध्यक्ष शाहले चाचाजीको नागरिक अभिनन्दनलाई सफल पार्न सबै पक्षसँग सहकार्य गरिने बताए । ‘नागरिक अभिनन्दन कार्यक्रमलाई सफल पार्न हामीले सबै पक्षसँग चरणवद्ध छलफल गरी कार्ययोजना बनाएर अगाडी बढ्नेछौं,’ उनले भने ।

यसपछि युनियनले पत्रकारितासँग सम्बन्धित अन्य संघ, संगठन तथा अन्य संस्थासँग छलफल गर्ने जानकारी दिए । प्रेस स्वतन्त्रता सेनानी गुप्त युनियन बाँकेको संस्थापक अध्यक्ष हुन् । उनी किरण साप्ताहिक पत्रिकाको सम्पादक/प्रकाशक रहदै आएका छन् । गुप्तले निरन्तर रुपमा अखबार प्रकाशन मात्र होईन, रिर्पोटिङमा समेत आफै खटिएर युवा पुस्तालाई समेत उर्जा दिईरहेका छन् ।

Womui
Womui