परिवार लैजान पाए रोकिएला कोरियाको आत्महया ?

72

छिनछिन खबर
काठमाडौं, वैशाख १६ ।
कोरिया रोजगारीमा रहेका कामदारले आत्महत्या गर्ने र मानसिक सन्तुलन गुमाउने क्रम बढेपछि सोही रोजगारीलाई सहज बनाउन नजिकको सदस्य लैजाने पहल थालिएको छ । पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको रोजगारीमा कोरिया पुगेकाले आत्महत्या गर्ने र मानसिक सन्तुलन गुमाउने क्रम बढेपछि वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले उक्त प्रक्रिया थालेको हो ।

 

कामदारले आफ्नो कार्यकालमा परिवारको निकटतम सदस्यलाई कोरिया लैजान पाउने हो भने आत्महत्याका घटनामा कमी आउने शाखाले अपेक्षा गरेको छ । ‘घरपरिवारबाट लामो समय टाढा हुँदा ‘होमसिक’ हुने र जसका कारण कामदार डिप्रेसनमा जाने भएकाले कार्यकालमा कम्तीमा एक पटक परिवारको सदस्य लैजाने व्यवस्था होस् भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुझाव दिएका छौं,’ इपिएस शाखाका प्रमुख कृष्ण खनालले भने ।

 

भाषा परीक्षा उत्तीर्ण गरेका व्यक्तिलाई कोरियन रोजगारदाताको छनोटपछि चार वर्ष १० महिनाको भिसा दिने गरिन्छ । उक्त अवधिमा काम र रोजगारदाता चित्त नबुझे कामदारले रोजगारदाता कम्पनी छोड्न पाउँदैन । कोरियामा डर्टी, डिफिकल्ट र डेन्जरस (फोहरी, कडा र खतरनाक) काम गर्दा समस्याको सेयरिङ गर्ने व्यक्ति नहुँदा कामदारले आत्महत्याको बाटो रोज्ने गरेको धेरैले अनुमान गर्दै आएका छन् । कोरिया सरकारले समेत नेपाली कामदारले आत्महत्या गर्ने क्रम बढेपछि कमी गर्ने उपाय अवलम्बन गर्न नेपाललार्ई दबाब दिँदै आएको मन्त्रालयका कर्मचारी बताउँछन् ।

नेपाली कामदारले आत्महत्या गर्ने क्रम बढेपछि कोरियाले अन्तर्राष्ट्रिय जगतमा आफ्नो बेइज्जत भएको भन्दै पटकपटक कुरा उठाउने गरेको छ । इपिएस सुरु भएयता (सन् २००८) रोजगारीका लागि कोरिया पुगेका ३६ जनाले आत्महत्या गरेको शाखाले जनाएको छ । सोही अवधिमा कोरियामा कालगतिले एक सय ३० को मृत्य भएको छ ।

सरसर्ती हेर्दा भने कोरियाको रोजगारी निकै आकर्षक मानिन्छ । अतिरिक्त समय (ओभरटाइम) काम नगर्नेले पनि कोरियाको रोजगारीमा मासिक पारिश्रमिक एक लाख ५० हजार रुपैयाँ भन्दा बढी पाउने गर्छन् । रोजगार अनुमति प्रणाली सुरु भएयता करिब ५१ हजार युवायुवती कोरिया गइसकेछन् ।

शाखा प्रमुख खनालले कोरियाको रोजगारीलाई सुधार गर्न आत्महत्या र अस्वभाविक रूपमा मृत्यु भएकालाई समेत बिमा सुविधा उपलब्ध गराउन आवश्यक रहेको समेत बताए । हाल कोरियन रोजगारदाताले कामदारको कार्यस्थल विमा दुर्घटना मात्र गराएका छन् । कार्यस्थलभन्दा बाहिर कामदारको मृत्यु तथा अंगभंग हुनेले बिमा दाबी गर्न पाउँदैनन् । ‘हामीले कोरियाको रोजगारीका देखिएका समस्या अन्त्य गर्ने पहलस्वरुप भित्री पाटा केलाएर थप प्रक्रियाका लागि मन्त्रालयमा सुझाव दिइसकेका छौं,’ खनालले भने, ‘समस्या समाधानका लागि मन्त्रालय तहबाट पहल हुने अपेक्षा छ ।’

Womui
Womui