कांग्रेस युवा नेताको ठहर–अहिलेको नेतृत्व कायम रहनु जनभावना विपरित

93

छिनछिन खबर
काठमाडौं, वैशाख ११ । नेपाली कांग्रेसका युवा नेताहरुको पार्टीमा अहिलेकै नेतृत्व कायम रहनु जनभावना विपरित हुने ठहर गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा युवा नेताको समूहका तर्फबाट गगन थापाले प्रस्तुत गरेको लिखित प्रतिवेदन पार्टी नेतृत्व अक्षम भइसकेको उल्लेख छ । मंगलबारको बैठकमा केन्द्रीय सदस्य थापाले ५१ पाना लामो प्रतिवेदन पेश गरेका हुन्।

थापाको समूहमा रहेका चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल, रघु घिमिरे, वद्री पाण्डे सहितका नेताले प्रतिवेदन तयार गरेर पार्टी बैठकमा पेस गरेका हुन् ।जनताको अपेक्षालाई पूरा गर्ने भन्दा पनि जनतालाई निराश बनाएकाले चुनाव हारिएको युवा नेताहरुले बुझाएको प्रतिवेदनमा उल्लेख छ । ’कांग्रेसले जनअपेक्षा अनुरुप काम गर्न सकेन, सुशासन दिन सकेन, परिणाम देखाउन सकेन, जनताप्रति उत्तरदायी र जवाफदेही भएन’, प्रतिवेदनमा उल्लेख छ, ।

जनताबाट पाएको मतादेशलाई आम नागरिकको हितमा प्रयोग गर्ने भन्दा पनि फगत पार्टीका केही महानुभावको सत्तारोहणको लालसालाई पूरा गर्नमा कांग्रेसको परिचय बनेको भनिएको छ ।

उनीहरूको भनाइमा २०४८ देखि नै नेपाली कांग्रेस संकटग्रस्त भएको हो । पार्टीले अवलम्बन गर्दै आएको समझदारी र भागबण्डाको अवधारणा छाड्नुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । समीक्षाको क्रममा समेत गम्भीर विषयहरु उठेकाले महासमितिबाट ती विषयहरुलाई सम्बोधन गर्नुपर्ने प्रस्ताव युवा नेताहरुले राखेका छन् ।

संघीय प्रणालीका नयाँ संरचना बनेकाले त्यहाँ महाधिवेशन बैठकबाट संशोधित विधान पारित गरी शीघ्र महाधिवेशनमा जान माग गरिएको छ ।
पार्टीको नेतृत्व भने महाधिवेशनले नै टुंग्याउने विषय भएको प्रतिवेदनमा उल्लेख छ। तर अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु भनेको जनादेश र मतादेशलाई नबुझिएको उल्लेख छ। ।

Womui
Womui