आर्थिक समृद्धि गर्न भवानी राणाका यस्ता छन् टिप्स, भाषणले मात्र देश बन्दैन

163

निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणा उक्त संस्थाको नेतृत्व गर्ने पहिलो महिला हुन् ।
देशका एकसे एक उद्योगी, व्यवसायी सदस्य रहेको महासंघलाई सर्वसाधारण र सरकारले आर्थिक समृद्धिमा टेवा पु¥याउने अंगका रूपमा लिने गर्छन् । महासंघमा तत्कालीन मध्यपश्चिम क्षेत्रबाट केन्द्रीय सदस्य हुँदै प्रवेश गरेकी राणाले एक दसकभन्दा बढी जिम्मेवारी तहमा बसेर अनुभव लिइसकेकी छन् । महासंघ अध्यक्षको कार्यकाल दुई वर्ष बाँकी रहँदा यसबीचमा उनले संगालेका थप अनुभव के कस्ता रहे ? छिनछिन खबरलाई यसरी सुनाइन्ः

निजी क्षेत्रको संस्था उद्योग वाणिज्य संघको नेतृत्वमा हुनुहुन्छ । जिम्मेवारी कसरी वहन गरिरहनु भएको छ ?

महासंघमा मेरो लामो अनुभव छ । खाली पछिल्लो समयमा पदमात्र पदोन्नति भएको हो । एक दसक बढीदेखि महासंघको कुनै न कुनै पदमा रहेर काम गरिरहेकी छु । स्वभाविक रुपले अध्यक्ष भएपछि केही जिम्मेवारी पनि बढ्ने नै भए । यतिखेर सोही जिम्मेवारी अनुसार काम गरिहेकी छु ।

महासंघ यतिखेर केमा केन्द्रित छ ?
देश संघीयतामा गइसकेपछि आर्थिक संरचना के कस्ता हुने भन्नेबारे देशभरि बहस चलाइरहेका छौं । विभिन्न सुझाव आइरहेका छन् । मुख्यकुरा आर्थिक समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने नै हो । सरकारले पनि आर्थिक समृद्धिमा जोड दिइरहेकाले सहज भइरहेको छ ।

सरकारले भने अनुसार आर्थिक समृद्धि गर्न गाह्रो, सहज कस्तो छ ?
काम गर्ने हो भने गाह्रो भन्ने केही छैन । फेरि यतिखेर देशमा सबैलाई आर्थिक समृद्धि नै चाहिएको छ । नेपाल जस्तै अवस्था भएका देशले कैयन प्रगति गरिसके । दुई छिमेकी मुलुक चीन र भारतले पनि तीव्र रुपमा आर्थिक विकास गरिरेहका छन् । नेपालमा भने अनेक बहानामा आर्थिक अवस्था सुधार हुन सकेको छैन । भाषण मात्र गरेर आर्थिक समृद्धि हुँदैन ।

आर्थिक समृद्धिका लागि कस्ता कार्यक्रम ल्याउनुपर्ला त ?
आर्थिक समृद्धिका लागि नेपालमा अनेक स्रोत, साधन छन् । तीमध्ये हाइड्रो, पर्यटन र कृषिलाई मात्र जोड दिने हो भने नेपालमा आर्थिक समृद्धि हुन गाह्रो छैन । जसका लागि दीर्घकालीन योजना, भौतिक पूर्वाधारको विकासमा जोड दिनु पर्छ ।

तपाईं नेपालगन्जको स्थायी बासिन्दा हुनुहुन्छ । पुरानो सहर भइकन पनि पछिल्लो समयमा नेपालगन्जमा आर्थिक गतिविधि वृद्धि हुन नसकेको सुनिन्छ । यस्तो किन ?
नेपालगन्ज निकै सम्भावना भएको सहर हो । पश्चिम नेपालको आर्थिक केन्द्र हो । नेपालगन्जलाई कसैले चाहँदैमा पछि पार्न सक्छ जस्तो लाग्दैन । हो, राजनीतिक रुपमा प्रदेशको राजधानी घोषणा गर्न नेताहरू चुकेका छन् । स्थायी राजधानी तोक्ने काम भइनसकेका कारण नेताहरूले यसमा अझै प्रयास गर्नुपर्छ । नेपालगन्जलाई ५ नम्बर प्रदेशमै रहनु पर्छ भन्ने पनि छैन । ६ नम्बर प्रदेशसँग पनि सम्बन्ध विस्तार गर्ने सम्भावना छ भनेर बिर्सनु हुँदैन ।

विकासका लागि नेपालगन्जबासी अब उठ्नु पर्ने बेला आएको छ । सीमामा आइसिपी निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, नौवस्तामा औद्योगिक क्षेत्र निर्माण र पर्यटकीय केन्द्रको बनाउने काम युद्धस्तरमा तुरुन्त सुरु हुनुपर्छ । मानसरोवर र स्वर्गद्वारी दर्शन गर्नका लागि नेपालगन्जबाट ठूलो संख्यामा भारतीय पर्यटक ल्याउन सकिन्छ ।

Womui
Womui