महासंघको प्रदेश चुनावमा बाँकेका तीन पत्रकार उम्मेदवार

87

नेपालगन्ज, बैशाख ७-
नेपाल पत्रकार महासंघको आसन्न प्रदेश चुनावका लागि बाँकेबाट ३ जना पत्रकार सर्वसम्मत रुपमा उम्मेदवार बनेका छन् । प्रदेश पाँचका लागि महासचिव पदमा प्रेस चौतारीका तर्फबाट भेषराज बस्नेत, सचिवमा नेपाल प्रेस युनियनको तर्फबाट शुक्रऋषि चौलागाई र दलित सदस्यमा प्रेस सेन्टरका तर्फबाट शिवकुमार सुनार सर्वसम्मत चयन भएका हुन् । चौलागाई पत्रकार महासंघ बाँकेको पुर्वअध्यक्ष हुन् ।

तीनै जनालाई आफ्ना संगठनले सर्वसम्मत रुपमा उम्मेदवार बनाएका हुन् । महासंघको यही बैशाख २२ गते हुने निर्वाचनको लागि प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले प्रदेशका पदाधिकारी र सदस्यको भागवण्डा गरेका थिए । तीन वटा संगठनले बाँडफाँट गरेको पदमा अन्य कसैको उम्मेदवारी नपरे उनीहरु निर्विरोध निर्वाचित हुनेछन् । पत्रकार महासंघको प्रदेश निर्वाचनमा सिन्डिकेट लगाइएको भन्दै अन्य संगठनले भने बिरोध जनाएका छन् । बिरोध स्वरुप महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।

स्वतन्त्र र अन्य संगठनहरुले त्यसको विरोध गर्दै आएका हुन् । यसैबीच पेशागत संगठनमा सिन्डिकेट लादिएको भन्दै महासंघको केन्द्रीय कार्यालय लगायत विभिन्न जिल्ला कार्यालयमा तालाबन्दी भएको हो । यसअघि प्रदेश निर्वाचन हुँदै गर्दा महासंघलाई साझा पेशागत संगठन हुन नदिन खोजिएको भन्दै क्रान्तिकारी पत्रकार संगठन, प्रेस सोसाइटी नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल र संघीय प्रेस फोरमले संयुक्त विज्ञप्ती जारी गर्दै विरोध गरेका थिए ।

Womui
Womui