पार्टीलाई जोगाउन बाँके कांग्रेस नेता, कार्यकर्ताको प्रण

116

नेपालगन्ज, बैशाख ७-
पार्टीलाई नयाँ ढंगले उचाईमा पु¥याउने नेपाली कांग्रेसका नेता, कार्यकर्ताले प्रण गरेका छन् । नेपाली कांग्रेस बाँकेले आयोजना गरेको नयाँ वर्ष २०७५ सालको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उपस्थित नेता, कार्यकर्ताले पार्टी भित्रका समस्यालाई अन्त्य गरी नयाँ ढंगले उचाईमा पुर्याउन आफुहरु कटिवद्ध हुने प्रतिबद्धता जनाए ।

पार्टीभित्रबाट भएका कमी, कमजोरीकै कारण स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा सोचे अनुरुप परिणाम आउन नसकेको भन्दै उनीहरुले बाँकेमा कांग्रेसको पुरानो ईतिहासलाई दोहोर्याउन सम्पुर्ण नेता, कार्यकर्ताहरु गाउँ केन्द्रित हुनुपर्ने बताए । नेपाली कांग्रेस आन्तरिक किचलोमा फस्दा बामपन्थी दलहरु सल्बलाउने मौका पाएको अधिकांस नेता, कार्यकर्ताको जोड छ । यसका लागि पार्टी नेतृत्वले आफ्ना कमी, कमजोरीलाई पनि सुधार गर्नुपर्ने उनीहरुले सुझाव दिएका छन् ।

कार्यकर्तालाई शुभकामना दिदै कांग्रेस सभापति किरण कोईरालाले नयाँ वर्ष २०७५ सालले पार्टीलाई सुदृढीकरण गर्नमा प्रेरणा प्रदान गर्ने बिश्वास गरिन् । ‘पार्टीलाई आजैबाट सुदृढीकरण गर्ने अभियानमा तपाईहरु सबै एकतावद्ध हुनुस्,’ उनले भनिन् ‘तपाईहरुको उर्जाले गर्दा अर्को पटकको चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्नेछ । कार्यक्रमको मध्य भागमा आईपुगेका माओबादी केन्द्रका नेता एवम् प्रतिनिधी सभाका सांसद महेश्वर गहतराजले नेपाली कांग्रेसकै नेतृत्वमा संबिधान बनेको उल्लेख गर्दै संबिधान कार्यान्वयनको सवालमा नेपाली कांग्रेसको भुमिका उत्तिकै महत्वपुर्ण रहेको बताए । ‘हिजो नेपाली कांग्रेसकै नेतृत्वमा बनेको संबिधान अहिले कार्यान्वयनको चरणमा छ,’ उनले भने ‘सत्ता पक्ष र प्रतिपक्षभन्दा पनि मुलुकको विकास र समृद्धिका लागि सबै पार्टीहरु एक हुनुपर्छ ।’

यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष कृष्णराज पाण्डेले नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । नेपाली कांग्रेस सत्ता बाहिर भएपनि जनतालाई कांग्रेसको साथ चाहिने उनले स्पष्ट पारे । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रतिनिधी सभाका सदस्य सर्बतआरा खानम तथा प्रदेश सभाका सदस्य सुरेन्द्र हमाल, आईपी खरेल र कृष्णा केसी, पुर्वसांसद कृष्णसिंह परियार, नेपाली कांग्रेसका पुर्वसभापतिद्धय युवराज शर्मा र गजेन्द्र हमाल, जिल्ला कार्यसमिति पदाधिकारी, महासमिति, महाधिवेशन प्रतिनिधी, स्थानीय तहका जनप्रतिनिधी, विभिन्न भातृ तथा शुभेच्छुक संघ संगठनका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

Womui
Womui