‘सरकारले तानाशाह लाद्न खोज्यो’ : यातायात ब्यवसायी

76

कोहलपुर, बैशाख ५-
सरकारले तानाशाह लादेर यातायात व्यवसायीलाई सिध्याउन खोजेको बाँकेका व्यवसायीले आरोप लगाएका छन् । सिण्डिकेटका नाममा यातायात ब्यवसायलाई नै धरापमा पार्ने प्रयास गरेको उनीहरुको गुनासो छ । यदी सरकारले व्यवसायीहरुको रोजीरोटी छिन्ने गरी ल्याउन लागेको प्रावधान नरोके बाँकेका ब्यवसायीले प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ‘संयुक्त आन्दोलन मुल समिति’ प्रदेश नम्बर ५ बाँके, कोहलपुरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यातायात ब्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

यातयात ब्यवसायीले लाद्दै आएको सिण्डिकेटलाई सरकारले खारेज गरिदिएपछि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा देशभरका यातायात ब्यवसायी समिति आन्दोलित भएका छन् । ब्यवसायीको सिण्डिकेटका कारण सर्बसाधारणले दुःख पाउन थालेपछि सरकारले यसविरुद्ध कडाई गर्दा यातायात ब्यवसायीले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । पाँचवटा संगठनको नेतृत्वमा आन्दोलन सुरु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियसनले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

पत्रकार सम्मेलनमा नमस्ते नेपाल यातायात ब्यवसायी समिति कोहलपुरका अध्यक्ष निरज चलाउनेले वर्तमान सरकारले लोकतन्त्रको उपहास हुने गरी यातायात क्षेत्रमाथी एकतर्फी रुपमा अंकुश लगाउने काम गरेको आरोप लगाए । ‘सरकारले सिण्डिकेटको नाममा मध्यमका खालका ब्यवसायलाई तहस नहस पार्दैछ,’ उनले भने ‘जसरी विकल्प बिनाको यात्रा सरकारले सुरु गरेको छ, यसले हजारौं युवालाई बेरोजगार बनाउने र आम सर्बसाधारणलाई दुःख दिनेछ ।’ सरकारले यातायात क्षेत्रको ब्यवस्थापन गर्नुको साटो ब्यवसायलाई बन्द गराउन खोज्नु आत्मघाती हुने अध्यक्ष चलाउनेको भनाई छ ।

सरकारको निर्णयबिरुद्ध यातायात ब्यवसायीले कोहलपुरमा गरेको पत्रकार सम्मेलन ।

सार्बजनिक यातायातले सरकारलाई हरेक प्रकारका कर तिर्दै आएको र जनतालाई सेवा प्रदान गर्दै आएको उनले बताए । ‘हामीले ब्यवसायका साथै सेवामुखी पनि हौं, आफ्ना यातायात साधनमा बिद्यार्थी, जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिएका छौं,’ उनले भने । बागेश्वरी यातायात समिति कोहलपुरका अध्यक्ष मनप्रसाद आचार्यले ब्यवसायीहरु माथी सरकारले एकोहोरो रुपमा सिण्डिकेटको आरोप लगाएको बताए । सिण्डकेटको आरोप थुपारेर सरकारले ब्यवसायी माथी एकतर्फी रुपमा आफ्नो निर्णय लाद्न खोज्नु कदापी स्वीकार्य नहुने उनले चेतावनी दिए ।

‘बरु हाम्रा गाडी आफ्ना घर र ग्यारेजमा थन्काउन तयार छौं, सरकारको एकतर्फी निर्णय मान्दैनौं,’ आचार्यले भने ‘हामीसँग कुनै सिण्डिकेट छैन, हामीले आलोपालो अनुसार ब्यवसाय सञ्चालन गर्दै आएका छौं ।’ पत्रकार सम्मेलनमा बोल्दै बाँके ट्रक ब्यवसायी समितिका अध्यक्ष यज्ञबहादुर ओलीले सिण्डिकेटका नाममा ब्यवसायीलाई सिध्याउन खोजेको आरोप लगाए ।

 

Womui
Womui