पशु स्वास्थ्य सेवा प्रभावकारी बन्दा मृत्युदर घट्यो

134

नेपालगन्ज, बैशाख ५-
बाँकेको डुडुवा गाउँपालिकामा सुरु गरिएको घर–घरमा पशु स्वास्थ्य सेवाले पशु मृत्युदर घटेको छ । निःशुल्क पशु औषधी उपचार गर्न थालेपछि पशु चौपायाको मृत्युदर घटेको गाउँपालिका कार्यालयले जनाएको छ । समयमा औषधी उपचार नपाएर अधिकांस पशु चौपाया रोगबाट मर्ने गरेकोमा अहिले घटेको गाउँपालिकाका पशु चिकित्सक अशोककुमार पाण्डेले बताए ।

उनका अनुसार गत फागुन १ गतेदेखि सुरु गरिएको उक्त अभियानपछि दुई महिनाको अवधिमा एउटा पनि पशु चौपाया मरेका छैनन् । ‘गाउँपालिका अन्र्तगत पशु चौपाया बिरामी पर्ने बित्तिकै हामीलाई फोन आउँछ, अनि तत्काल किसानको घरमै पुगेर निःशुल्क औषधी उपचार गर्छौ,’ उनले भने । पशु औषधी उपचारका लागि ७ जना पशु स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । उनीहरुले किसानका घरमै पुगेर भ्याक्सिन दिने, रोग परिक्षण गर्ने, गोबर जाँच गर्ने, पशु स्वास्थ्य परामर्श, दूध परिक्षण, पशु रोगबारे सचेतना, बिभिन्न घाँस लगायतका विषयमा जानकारी गराइरहेको पाण्डेले बताए ।

गाउँपालिकाले यस्तो अभियान सञ्चालन गरेका कारण आफ्ना पशु चौपायाको घरमै निःशुल्क उपचार भएपछि किसानहरु खुसी भएका छन् । पहिला पशु चौपाया बिरामी हुँदा नेपालगन्ज लैजानुपर्ने बाध्यता हटेको छ, भने समयमा उपचार पाउनमा सहज भएको किसानहरु बताउँछन् । सेवाका लागि गाउँपालिकाले ९ हजार पशु स्वास्थ्य कार्ड वितरण गरेको जनाएको छ । सो सेवा कार्डमार्फत गाई, भैसी, भेडा बाख्रा, गोरु, राँगा, कुकुर लगायतको उपचार गरिन्छ । गाउँपालिकाले विशेष गरि शिक्षा स्वास्थ्यको अवस्था सुधार ल्याउनका लागि अभियानमार्फत सेवाको प्रभावकारिताको कार्यलाई अघि बढाएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बताएका छन् ।

Womui
Womui