यसकारण नहुने भो वैशाख ९ मा एमाले–माओवादी एकीकरण

43

सपना शर्मा
काठमाडौं, वैशाख ५ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि घोषणा गरिएको चौथो मिति पनि खेर जाने भएको छ ।
वैशाख ९ गते दुई पार्टीबीच एकता हुने यस अघिको निर्णय थियो । स्थानीय तहको निर्वाचनयता दुई दलले एकताका लागि चार पटक मिति घोषणा गरे पनि सहमति जुट्न नसक्दा दुई दल एक बन्न सकेका छैनन् । तयारी नपुगेको भन्दै वैशाख ९ गते गर्ने भनिएको एकता पनि तत्काल नहुने भएको हो ।


खासगरी पार्टी एकतापछि नेतृत्व कसले गर्ने र एकतापछि बन्ने दलको केन्दीय समितिमा दुई पार्टीबाट कति÷कति सहभागी हुने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकता हुन समस्या परिरहेको छ । माओवादीले पार्टी एकतापछि आलोपालो नेतृत्व र ५० प्रतिशत हिस्सा माग गरेको छ भने एमालेले त्यसमा सहमति जनाइसकेको छैन ।

माओावदीले प्रधानमन्त्री एमाले अध्यक्ष हुने हो भने पार्टी अध्यक्ष आफूले पाउनुपर्ने माग गरेको छ । पार्टी एकीकरण घोषणा गर्दै स्थानीय तहको निर्वाचन हुनु अघिदेखि नै वामगठबन्धन बनाएका एमाले–माओवादीले कतै ७०–३० त कतै ७०–४० प्रतिशत हिस्सामा साझेदारी गर्दै आएका छन् ।


माओवादी नेता नारायणकाजी श्रेष्ठले दुई दलबीच अझै धेरै विषयमा सहमति हुन बाँकी रहेकाले वैशाख ९ गते एकता हुन नसक्ने बताए । एमाले महासचिव ईश्वर पोखरेल भने छलफल गर्ने विषय धेरै रहे पनि वैशाख ९ गते एकता हुने सम्भावना पनि रहेको बताउँछन् ।
एकता संयोजन समितिले तयार पारेको प्रतिवेदनले पनि टुंगो पाइनसकेको नेताहरूले बताएका छन् ।

Womui
Womui