आमाको नामबाट दिपिकालाई नागरिकता

169

नेपालगन्ज-अदालतले आदेश दिएको लामो समयपछि नेपालगन्ज-८ त्रिभुवन चोक निवासी २२ बर्षिया दिपिका सोनीले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेकी छन् । संबिधानमा भएको ब्यवस्था अनुसार आमाको नामबाट नागरिकता पाउन उनले झण्डै दुई वर्षसम्म कानुनी लडाई लड्नु परेको थियो । ‘आमाको नामबाट नागरिकता पाउँदा धेरै खुसी लागेको छ, अब मलाई जागिर खान कुनै समस्या हुने छैन,’ उनले हर्षित हुदै भनिन् । नेपाली नागरिकता नलिदै दिपिकाका बुवा गजेन्द्र सिंहको निधन भएको थियो ।

आमा पुर्णिमाले आफ्नो नामबाट छोरीलाई नागरिकता बनाईदिन खोजिन् । यसका लागि वडा कार्यालयको सिफारिस, आफ्नो जन्मसिद्ध नागरिकताको प्रतिलिपी, छोरीको शैक्षिक प्रमाणपत्रको प्रतिलिपी लगायत कागजातसहित २०७३ सालमा पुर्णिमा जिल्ला प्रशासन कार्यालय पुगिन् । ‘सबै कागजात पेश गर्दापनि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता दिन मानेन, त्यसपछि अदालतलाई गुहार्न बाध्य भयौं,’ दिपिकाले भनिन् ‘तुलसीपुर उच्च अदालत नेपालगन्ज ईजलासमा २०७३ चैत २७ गते मुद्दा दर्ता गरियो, अदालतले २०७४ जेठ १७ गते जिल्ला प्रशासन कार्यालयका नाममा परमादेश जारी गर्यो।’

जिल्ला प्रशासन कार्यालयलाई अदालतले एक महिनाभित्र दिपिकालाई नागरिकता दिएर त्यसको जानकारी अदालतलाई गराउन आदेश दिएको थियो । तर, त्यो आदेश पनि कार्यान्वयनमा आउन सकेन । अदालतको आदेश आईसकेपछि आमाको नामबाट नागरिकता माग्दै उनी जिल्ला प्रशासन कार्यालयमा पुगेपनि पाउन सकिनन् । अदालतको आदेश कार्यान्वयनको माग गर्दै उनले फेरीपनि तुलसीपुर उच्च अदालत नेपालगन्ज ईजलास समक्ष निवेदन दर्ता गराईन् । अदालतले फेरी प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर आदेश कार्यान्वयन भए÷नभएको कुरा तीन दिनभित्र जानकारी गराउन पत्र काट्यो ।

दिपिकाको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुनिल श्रेष्ठले भने, ‘प्रशासन कार्यालयले संबिधान बमोजिम नागरिकता सम्बन्धी कानुन संशोधन नभएका कारण आदेश कार्यान्वयन गर्न कठिनाई भएको जबाफ अदालतलाई दियो ।’ केही समययता अदालतको आदेश कार्यान्वयन गर्ने/नगर्ने अन्यौलताका बीच जिल्ला प्रशासनले सोमबार भने दिपिकालाई सहज रुपमा आमाको नामबाट बंशजको नागरिकता दियो । नागरिकता पाउँदा आफुलाई बल्ल नेपाली नागरिक भएको महसुस भएको दिपिकाले प्रतिक्रिया दिएकी छन् ।

Womui
Womui