‘यातायातलाई हेर्ने छुट्टै निकाय स्थापना हुनुपर्छ’ : कर्माचार्य

261

नेपालगन्ज-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायातलाई हेर्ने छुट्टै निकाय स्थापना नहुँदा सम्म देखा परेका समस्या समाधान नहुने बताएका छन् । नेपालगन्जमा शनिबार पत्रकारसँग उनले दुई दशकदेखी छुट्टै निकाय हुनुपर्ने माग गर्दै आएपनि सरकारले बेवास्ता गरेको आरोप लगाए । अर्को प्रसङ्गमा उनले यातायात क्षेत्रमा देखा परिरहेका समस्या समाधान गर्न अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउनुपर्ने बताए ।

पत्रकारसँग बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य ।

प्राधिकरण बनाउन महासंघले सरकारसँग पहल गरिरहेको अध्यक्ष कर्माचार्यको भनाई छ । ‘अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन मैले पहल गरिरहेको छु, यसको लागि प्रपोजल तयार पार्ने काम भईरहेको छ,’ उनले भने । सरकारले एकतर्फी रुपमा निर्णय गरेर २० वर्षसम्म चलेका यातायात साधनलाई हटाउन लागेकोमा असन्तुष्टी जनाउँदै उनले भने, ‘गाडी उमेरले बुढो हुदैन, गाडीको उमेरभन्दा मर्मत सम्भारको कुरा महत्वपुर्ण हो, मर्मत भएन भने ३ वर्ष चलेको गाडीबाट पनि प्रदुषण निस्कन्छ ।’ महासंघको सहमती बिना गरेका निर्णय मान्य नभएको अध्यक्ष कर्माचार्यको भनाई छ ।

आफ्नो जोखिम मोलेर भएपनि मुलुकका दुर्गम क्षेत्रमा सेवा दिई यातायात व्यवसायीले सरकारले समेत गर्न नसकेको सेवा दिएको उनले बताए । ‘हामी पेशाले ब्यवसायी हौं, तर हाम्रो पनि यो देशको लागि योगदान छ, हामीले सेवा मुलक व्यवसाय गरिरहेका छौं,’ उनले भने । अध्यक्ष कमाचार्यसँगै महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति, केन्द्रिय सदस्य गोविन्द पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui