सरकारी नीति, नियमले निर्माण व्यवसायी मर्कामा

146

नेपालगन्ज-निर्माण व्यवसायीहरुले सरकारी नीति÷नियमका कारण आफुहरु मर्कामा परेको गुनासो गरेका छन् । अव्यवहारिक नीतिकै कारण आफुहरुलाई काम गर्न समस्या भईरहेको उनीहरुले जोड दिए । बाँके निर्माण व्यवसायी संघको शनिबार नेपालगन्जमा आयोजित १७ औं साधारण सभामा बोल्ने अधिकांश बक्ताले यस्तो बताएका हुन् । निर्माण व्यवसायी संघ प्रदेश नम्बर ६ का अध्यक्ष मोहनप्रसाद आचार्यले विदेशी निर्माण व्यवसायीलाई झैं स्वदेशी निर्माण व्यवसायीलाई काम गर्ने सहज वातावरण भइदिए विकास निर्माणका काम समयमै गर्न सकिने बताए ।

विगतमा स्वदेशको ढुङ्गा, गिट्टी भारत निकासी हुँदा धमाधम हुने तर स्वदेशी व्यवसायीले ढुङ्गा, गिट्टी उत्खनन् गर्दा सहज रूपमा उपभोग गर्न नपाइरहेको गुनासो गरे । संघ बाँकेका कोषाध्यक्ष सुनिलप्रकाश शाहले निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तरीयता राज्यस्तरबाटै जाँच हुनुपर्ने बताए । टेण्डर प्रक्रियामा हुने घुसखोरीलगायतका कामलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिदै उनले भने, ‘कुनैपनि निर्माणका काममा ठेकेदारको मात्रै कमजोरी हुँदैन, ठेकेदारको लापरवाहीले गुणस्तरहीन काम भयो भन्नु गलत हो ।’

‘राजनीति सङ्लिए सबै कुरा सङ्लिन्छ’
यस्तै एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले राजनीति सङ्लिए सबै कुरा सङ्लिने बताए । राज्यबाट बनाइएका नीति नियमका कारण व्यवसायीलाई काम गर्न समस्या भइरहेको गुनासो उठाइरहँदा प्रमुख अतिथि समेत रहेका अध्यक्ष कोइरालाले यस्तो बताएका हुन् । राजनीतिक अस्थिरताका कारण विगतको राजनीति धुमल्लिएको बताउँदै कोइरालाले भने, ‘विगतको राजनीतिलाई धुमिल्याउने काम तपाईं निर्माण व्यवसायीबाट नै भएको छ, पार्टीका नाममा मोटो चन्दा दिई आफू अनुकूलको काम निकाल्न तपाईंहरु नै लाग्नु भयो, राजनीतिक नेता कमिसनको खेलमा लागे त्यसैले विगतको राजनीति धुमल्लिएको हो ।’

देशमा राजनीतिक स्थिरताको लागि जनताले बामगठबन्धनलाई विश्वास गरेकाले अबको राजनीति सङ्लिएको कोइरालाले बताए । कुनै पनि नीति निर्माणको काममा राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने औँल्याउँदै उनले भने,‘ वाम गठबन्धनको सरकारले विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर विगतमा भएका अगुणस्तरीय कामको लेखाजोखा गर्दैछ, गुणस्तरहीन काम गरेका निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनेलगायत अबको निर्माण कार्य तोकेकै मापदण्ड बमोजिम नगर्ने व्यवसायीलाई अर्को ठेक्कापट्टामा सहभागी नगराउने लगायतका नीति नियम ल्याउँदैछ, त्यसैले अबको विकास निर्माण गुणस्तरीय हुनेछ ।’
चार व्यवसायीलाई सम्मान
संघको १७ औं साधारण सभामा निर्माण व्यवसायीबाट जनप्रतिनिधि बनेका ३ र विगत ३७ वर्षदेखि निर्माण व्यवसायमा क्रियाशील एक व्यक्तिलाई सम्मान गरियो । सम्मानित हुने जनप्रतिनिधिमा क्रमशः नेपालगन्ज उपमहानगरपालिका-१० का वडाध्यक्ष बिन्दुभूषण बस्नेत, राप्तीसोनारी–९ का वडाध्यक्ष महाबीर ओली र कुमाउ गाउँपालिका सल्यानका वडाध्यक्ष गोपाल बुढाथोकी रहेका छन् । ३७ वर्षदेखि निर्माण व्यवसायमा क्रियाशील चौधरी साह कन्ट्रक्सनका चौधरी साहलाई सम्मानित गरिएको छ । त्यस्तै कोष तथा लेखा नियन्त्रक नेपालगन्जका प्रमुख ठाकुर पौडेललाई माया चिनो दिएर सम्मान गरियो ।

 

 

Womui
Womui