तस्करी गरेर भित्रिएको मासु बरामद

165

नेपालगन्ज-भारतबाट तस्करी गरेर ल्याइएको अबैध मासु प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले ६ क्वीन्टल कुखुराको मासु बरामद गरेको हो । भारतबाट लुकाईछिपाई ल्याएको अबैध कुखुराको मासु वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मंगलबार दिउँसो १ बजेतिर नेपालगन्ज उपमहानगरपालिका ४ सल्यानीबाग क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । मासुसहित अन्य ३ जना व्यक्तिलाई पक्राउ गरिएको वडा प्रहरी ईन्चार्ज राजन गौतमले जानकारी दिए । भारतबाट थोरै परिमाण ल्याई जम्मा गरेर गाडीमा राखेर अन्यन्त्र लैजाँदै गरेको अवस्थामा गाडीसहित मासु बरामद गरिएको उनले बताए ।

अबैध मासु नेपालगन्जको धम्बोझीमा रहेको डिके मिट सप्लायर्सको रहेको गौतमले जानकारी दिए । प्रहरी निरीक्षक गौतमका अनुसार डिके मिटका एक कर्मचारी, मासु बोक्ने भरिया र चालकलाई नियन्त्रणमा लिइएको छ । डिके मिटले नेपालगन्जबाट पोखरा, काठमाडौं लगायतका ठूला शहरमा मासु पुर्याउने काम गर्दछ । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि संलग्न व्यक्ति सहित बरामद मासु पशु क्वारेन्टाइन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यसअघि पनि अबैध तरिकाले मासु आयात हुँदै आएको जनगुनासो आएको थियो । भारतिय प्रतिबन्धित मासु सहित डिके मिट सप्लायर्स फन्दामा परेको यो दोस्रो हो ।

 

Womui
Womui