आठौं खेलकुद प्रतियोगिताको लागि लोगो र मस्कट सार्वजनिक

222

नेपालगन्ज-आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पर्ने लोगो, मस्कट, नारा र गित सार्वजनिक गरिएको छ । आगामी २०७५ मंसिरमा नेपालगन्जमा हुने उक्त प्रतियोगिताको महत्वपूर्ण पाइलाका रुपमा लोगो, मस्कट र नारालाई सार्वजनिक गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताको पहिचानका लागि निर्माण गरिएको लोगो र हात्तीको बच्चा(छावा) अंकित मस्कट सार्वजनिक गरे । ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ नेपालगन्जमा आयोजना हुने आयोजक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए । उनले प्रतियोगिता तयारीका विषयमा यसअघि विभिन्न प्रतियोगिता समेत मिसनका रुपमा सञ्चालन गरेको भन्दै महत्वपूर्ण कडीका रुपमा रहेको लोगो र मस्कट पनि बुधबार सार्वजनिक गरिएको उल्लेख गरे ।

मसाल समाउँदै दौडिरहेको मस्कटले समग्र मधयपश्चिम क्षेत्रको पहिचानको काम गरेको राखेपले जनाएको छ । बर्दियामा पाइने एसियाकै ठूलो हात्तीको पहिचान गराउन र खेलकुदमा माध्यमबाट संरक्षणका लागि मस्कटमा हात्तीको छावा चित्र अंकित गरिएको हो । यस्तै, लोगोमा नेपालको राष्ट्रिय झण्डा, स्वयंम्भुका आँखा, बौद्ध जन्मस्थल लुम्वेनी, बर्दिया राष्ट्रिय निकुन्जको गेट, सातवटा प्रदेशका प्रतिकका रुपमा सात रंगका प्वाख सहितको परेवा रहेको छ । प्रतियोगिताको तयारी तिब्र रुपमा भइरहेको आयोजकले जनाएको छ । राखेप सदस्य सचिव विष्टले यस प्रतियोगिताले नेपालगन्जलाई स्पोर्टस् सिटीका रुपमा पहिचान दिलाउने विश्वास व्यक्त गरे ।

Womui
Womui