गाउँपालिकाको विकासमा निकुञ्ज ‘बाधक’

134

नेपालगन्ज-तटबन्ध निर्माणका लागी आवश्यक पर्ने ढुंगा नपाउँदा राप्तीसोनारी गाउँपालिकाभित्र लागु भएका कतिपय योजनाको काम अगाडी बढाउन समस्या देखिएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बाहिर रहेका गाउँमा तटबन्ध निर्माणका लागी आवश्यक पर्ने ढुंगा नपाउँदा काम अगाडी बढाउन कठिनाई भईरहेको उपभोक्ता समितिले बताएका छन् । तटबन्ध निर्माणका लागी चाहिने ढुंगा मध्यवर्ती क्षेत्रभित्रका खोलामा भएपनि निकुञ्ज बाधक बनेको र यसले गर्दा मध्यवर्ती क्षेत्र बाहिरका विकास निर्माणका योजनाहरु प्रभावित हुन पुगेको समितिका पदाधिकारीको गुनासो छ ।

राप्तीसोनारी गाउँपालिका–८ स्थित नयाँगाउँ (ढकेरी)मा सोमबार निर्माणाधिन बाटो अनुगमन गर्दैै उपाध्यक्ष धनीकुमारी खत्री लगायत ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गेरुवा नालामा तटबन्ध निर्माणका लागी आवश्यक पर्ने ढुंगा नपाउँदा एक महिनादेखी काम रोकिएको उपभोक्ता समितिका सचिव चेतबहादुर ओलीले बताए । कुल ९ लाख रुपैयाँको लागतमा तटबन्ध निर्माणका लागी माघ २ गते सम्झौता भएपनि अहिले सम्म ढुंगा नपाएकै कारण काम सुरु गर्न नसकेको सचिव ओलीले दुखेसो पोखे । ‘तटबन्धमा चाहिने जाली आईसकेको छ, तर आवश्यक पर्ने ढुंगा पाएका छैनौं,’ उनले भने ‘मध्यवर्ती क्षेत्रभन्दा बाहिरका गाउँलाई ढुंगा संकलन गर्न नदिने निकुञ्जको अव्यवहारिक नीतिका कारण हामी बञ्चित भएका छौं ।’ निकुञ्जले मध्यवर्ती क्षेत्रभित्र पर्ने गाउँका उपभोक्ताका लागी आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्री संकलन गर्न भने अनुमती दिने गरेको स्थानीय बासिन्दाको भनाई छ ।

निकुञ्जले अन्य थुपै्र ठाउँमा पनि तटबन्धका लागी आवश्यक पर्ने ढुंगा संकलन गर्न नदिंदा निर्माणको काम अगाडी बढ्न नपाएको वडाका जनप्रतिनिधिहरु बताउँछन् । राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष एवम् अनुगमन समितिका संयोजक धनीकुमारी खत्रीको नेतृत्वमा सोमबार पुगेको टोली समक्ष अधिकांस ठाउँमा उपभोक्ता समितिका पदाधिकारीले तटबन्ध निर्माणको काम अगाडी बढ्न नसक्नुमा ढुंगाको अभाव मुख्य कारण रहेको कुरा सुनाएका थिए । गाउँपालिका उपाध्यक्ष खत्रीले विकासको काममा निकुञ्जले असहयोग गर्न नहुनेमा जोड दिदै यसबारे सम्बन्धित निकायसँग छलफल गरेर समस्याको निकास खोजिने बताईन् । ‘प्राकृतिक स्रोत साधनका हिसाबले हाम्रो गाउँपालिका जिल्लाकै सबैभन्दा धनी छ, तर आफ्नै गाउँ–टोलको विकास गर्न उपभोक्ताले आवश्यक पर्ने ढुंगा नपाउनु दुःखत कुरा हो,’ उनले भनिन् । निकुञ्जले तटबन्ध निर्माणका लागी आवश्यक पर्ने ढुंगा उपभोक्तालाई दिएर गाउँपालिकाको कामलाई साथ दिनुपर्ने उपाध्यक्ष खत्रीले बताईन् ।

उपाध्यक्ष खत्रीको नेतृत्वमा खटिएको टोलीले सोमबार वडा नम्बर ८ र ९ का आधा दर्जन बढी योजना तथा कार्यक्रम अनुगमन गरेको छ । उक्त टोलीले राप्तीसोनारी–९ बैजनाथपुर(ढकेरी) स्थित जनता माध्यामिक बिद्यालयको पर्खाल निर्माण, झोलुंगे पुल तटबन्ध, मौवा टोल चुके नालाको पुल, पशुसेवा केन्द्रको अधुरो भवन, गेरुवा नाला तटबन्ध, वडा नम्बर ८ स्थित नयाँ गाउँ नाला सहितको बाटो ग्राभेल र सोही वडाको अधुरो होमस्टे तालिम सभाहल निर्माण योजनाको अनुगमन गरेको थियो । अनुगमन गर्दा केही योजना सञ्चालनमा आएपनि कतिपय योजना निर्माण सामाग्री अभावका कारण सञ्चालन हुन नसकेको पाईएको अनुगमन टोलीले जनाएको छ । गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समितिका संयोजक खत्रीको नेतृत्वमा गाउँ कार्यपालिका एवम् अनुगमन समितिका सदस्य देवराज कुमाल र गाउँकार्यपाालिका सदस्य मिना विष्ट, पत्रकार लगायतको सहभागिता रहेको थियो । दिनभर परेको पानीको कुनै प्रवाह नगरी टोलीले रुझ्दै, भिज्दै योजना तथा कार्यक्रम अनुगमन गरेको हो ।

Womui
Womui