नेपालगन्ज उपमहानगरपालिकाले फाहोर फाल्ने जग्गाको विवाद टुंगो लगायो

81

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्ड फिल्ड साइड) को जग्गा विवाद टुंगिएको छ । नेपालगन्ज–२३ हिरमिनियास्थित ल्याण्डफिल्ड साइडको साढे १२ विघा क्षेत्रफल भित्र अरुकै नाममा जग्गा भेटिएपछि बढेको विवाद सदाका लागी किनारा लगाइएको हो । फोहोर व्यवस्थापनको भरपर्दो संरचनाका रुपमा निर्माण कार्य बढिरहँदा आफ्नो जग्गामा संरचना बनिरहेको भन्दै केही व्यक्तिले अदालतमा मुद्धा दायर गरेपछि सम्पूर्ण निर्माण कार्य ९ महिनादेखि अवरुद्ध रहदै आएको थियो । त्यहाँ क्षेत्रीय शहरी विकास आयोजनामार्फत काम भइरहेको थियो ।

साविक नेपालगन्ज–१७ का सिद्धान्तजंग राणा, बैजापुर–६ की अनकलिया थारुले २०७४ वैशाख २७ गते उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशमा दायर गरेको रिट उपर बैशाख २८ गते दुवैको नामको जग्गामा निर्माण कार्य नगर्नु, नगराउनु भनी अन्तरिम आदेश दिएको थियो । राणाको कित्ता नम्बर ५०१, ५०२ को ८ कठ्ठा, थारुको ५०१, २४९ र ४९९ कित्ता नम्बरको ९ कठ्ठा ७ धुर जग्गा रहेको थियो । निर्माण कार्य रोकिएर फोहोर बिसर्जन गर्न समस्या उत्पन्न भएपछि उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको अग्रसरतामा थालिएको निरन्तर छलफलपछि जग्गा अधिग्रहण गरिएको हो । प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीको अध्यक्षतामा रहेको जग्गा अधिग्रहण समितिले प्रति कठ्ठा २ लाख ३५ हजार ५ सय ७४ का दरले जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

Womui
Womui