प्रादेशिक महोत्सव : राजधानी नबनाउँदाको ‘पीडा र आक्रोश’

109

नेपालगन्ज-संघीयता कार्यान्वयका लागि सरकारले हालै स्थायी प्रादेशिक राजधानी कायम गर्दा मुलुकका थुप्रै ठाउँमा बन्द, हड्ताल र प्रर्दशन गरियो । प्रादेशिक राजधानीबाट बञ्चित हुन पुगेको नेपालगन्जमा स्थानीय उद्योग वाणिज्य संघले भने बन्द, हड्ताल र प्रर्दशनको सट्टा प्रादेशिक महोत्सव सञ्चालनको तयारी गरयो । महोत्सवको प्रमुख अतिथिका रुपमा आयोजकले बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालगन्ज बोलायो । राजधानीबाटै हेलिकप्टरमार्फत निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो पूर्वप्रधानमन्त्री दाहाल आईपुगे । नेपालगन्जलाई प्रादेशिक राजधानी नबनाउँदाको पीडा र आक्रोश पोख्ने थलो बन्यो, प्रादेशिक महोत्सव ।

महोत्सवको मुल गेटमा सञ्चालन गरिएको हस्ताक्षर अभियान ।प्रमुख अतिथि दाहालले बक्ताहरुका आक्रोश र पीडा एकोहोरो सुनिरहे । कार्यक्रमको सुरुमै स्वागत मन्तव्यका क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले नेपालगन्जलाई राजधानी नबनाउँदा अपमानित भएको बताए । ‘पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन पश्चात प्रचण्ड ज्यु तपाई आफै आएर त्रिभुवन चोकमा नेपालगन्जको अभिभावक बनेको बताउनु भएको थियो,’ मन्सुरीले भने ‘तर खै तपाईले नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन पहल गर्नु भएन ।’ विगतमा २४ जिल्लाको नेतृत्व गरेको बाँकेले प्रादेशिक राजधानी नपाउनु दुर्भाग्य भएको बताए । सबै दृष्टिकोणले राजधानीका लागी बाँके उपयुक्त रहेको उनको दाबी छ । संघका उपाध्यक्ष मन्सुरीले भाषणले उद्घाटन कार्यक्रममा जब प्रादेशिक राजधानीको मुद्दाले प्रवेश माहोल फरक बन्यो ।

बाँके-२ का प्रतिनिधि सभा सदस्य मोहम्मद ईस्तियाक राईले संघियताको उद्गम स्थल नेपालगन्जलाई उपेक्षा गरिएको आक्रोश पोखे । प्रादेशिक राजधानीबाट बञ्चित गरिरहँदा नेपालगन्जमा रहेका सरकारी कार्यालय बुटवल सार्न लागेको कुरा सुनेको बताउँदै भने, ‘चेतना होस्, सरकारी कार्यालय सार्न खोजियो भने हामी जुनसुकै मुल्य चुकाउन तयार छौं ।’ उनले कञ्चनपुरदेखि बाँके सम्मका जिल्लालाई समेटेर ८ नम्बर प्रदेश कायम गराउन माग पनि गरे । प्रदेशसभा सदस्य सुरेन्द्र हमालले संघियताको कार्यान्वयन स्वरुप नेपालगन्जमा मुलुककै पहिलो प्रादेशिक महोत्सव हुँदा यसले बाँकेलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन सहयोग पुरयाउने विश्वास गरे । राजधानीका लागि सबै बाँकेबासी जाग्नुपर्ने उनले बताए । ‘राजधानी बनाउने अभियानमा सबै बाँकेबासी लाग्ने हो भने कसैले पनि रोक्न सक्दैन,’ हमालले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले महोत्सव आयोजना गर्नुको उद्देश्यबारे प्रष्ट्याउँदै भने, ‘आर्थिक रुपले सम्पन्न भएको र हरेक हिसाबले अगाडी रहेको बाँके जिल्लाले राजधानी नपाउनु दुर्भाग्य हो ।’ प्रादेशिक राजधानी बनाउन महोत्सवले दवाव सिर्जना पनि गर्ने बैश्यले बताए । नेपालगन्ज निवासी कार्यक्रमकी विशिष्ट अतिथी एवम् नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले नेपालगन्ज हरेक हिसाबले उपयुक्त ठाउँ भएको दाबी गरिन् । प्रादेशिक महोत्सवले यहाँको उद्योग, व्यवसाय, कृषि, पर्यटन क्षेत्रको प्रवर्द्धनका साथै कला, सँस्कृती, भेषभुषाको संरक्षणमा टेवा पुरयाउने विश्वास गरिन् । उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहाललाई राजधानी संघर्ष समिति बाँकेका तर्फबाट संयोजक निरक गुरुङले राजधानी बनाउनुपर्ने आधार सहितको ज्ञापन पत्र बुझाए । प्रादेशिक राजधानीको मुद्दाले प्रवेश पाएपछि प्रमुख अतिथि दाहालले बाँकेबासीप्रति सहानुभुती दिन भ्याए । मन्तव्यका क्रममा उनले भने, ‘नेपालगन्जले खेलेको ऐतिहासिक भुमिकाको बारेमा धेरै ईतिहासको पानामा लेखिएका छन्, मैले पढेको छु,’ उनले भने ‘मैले धेरै पटक तपाईसँग भनेको छु, म तपाईको साथमा नै छु ।’

आफूले कुनैपनि हालतमा बाँके जिल्लालाई पछाडी पर्न नदिने प्रतिबद्धता जनाए । उनले थपे, ‘म काठमाडौं गएपछि सबै राजनीतिक दलसँग छलफल गरेर बाँकेमा प्रादेशिक राजधानीका विषयमा सकारात्मक पहल गर्नेछु ।’ प्रादेशिक राजधानी जहाँ तोकेपनि मन्त्रालय र विभिन्न कार्यालयलाई समावेशी रुपले स्थापना गर्नुपर्ने बताए । ‘अहिले अस्थायी केन्द्र मात्र तोकिएको छ, रियल राजधानी बनाउन बाँकी छ,’ उनले भने ‘तर, मान्नुस नेपालगन्जनै राजधानी भएपनि सबै अफिस नेपालगन्जमा हुनुहुदैन, केही दाङमा र केही बुटवलमा हुनुपर्छ, समावेशी खालको हुनुपर्छ ।’ बाँकेको पक्षमा सिंहदरबारमा आवाज उठाउने प्रतिवद्धता पनि दोहोरयाए ।

मानसरोवर तिर्थयात्रीको गन्तव्यका रुपमा रहेको नेपालगन्जलाई पुनर्संगठित गर्न आवश्यक रहेको नेकपा माओबादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले बताए । नेपालगन्जमा हवाई अड्डाको रुपमा विकास गरी अन्र्तराष्ट्रिय बिमानस्थल बनाउन, वहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल स्थापना गर्नतर्फ आफुले पुर्ण रुपमा पहल गर्ने प्रतिवद्धता जनाए । राजधानी संघर्ष समितिले महोत्सवको मुलगेटमै प्रादेशिक राजधानीका लागी दवाव स्वरुप हस्ताक्षर संकलन अभियान पनि चलाएको छ । महोत्सव हेर्न आउने दर्शकले हस्ताक्षर अभियानमा सहभागिता जनाईरहेको संघर्ष समितिका संयोजक गुरुङले बताए । ‘हस्ताक्षर अभियानका लागी हामीले ५० मिटर कपडा राखेका छौं, जहिले सम्म हस्ताक्षर पुरा हुदैन, तब सम्म जारी रहन्छ,’ उनले भने ।

-नागरिकन्युजबाट

Womui
Womui