नेपाली काँग्रेसलाई कमजोर नठान्न हमालको चेतावनी– (भिडियो सहित)

116

नेपालगन्ज-नेपाली काँग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोईरालाको जिल्ला बाँकेबाट निर्वाचित पार्टीका एक मात्र प्रदेश सभा सदस्य सुरेन्द्र हमालले काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

नेपालगन्जमा बुधबार आयोजित विजयी रयाली पश्चात स्थानीय सहिद सेतु बिक चोकमा कोण सभालाई सम्बोधन गर्दै उनले भने, ‘मित्रहरु हामी अहिले पनि कमजोर छैनौं, हामीले आफुलाई कुनैपनि हालतमा कमजोर ठान्नु हुदैन ।’ पुर्वमेची देखी पश्चिम महाकाली सम्म नेपाली काँग्रेसको संगठन रहेकाले चुनावी परिणामबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेससँग डराएर नेकपा एमाले र माओबादी केन्द्रले वाम गठबन्धन बनाएको बताउँदै हमालले भने, ‘एक्लै लड्ने हो भने नेपाली काँग्रेस उनीहरु भन्दा कुनैपनि हालतमा तल छैन, संख्यात्मक हिसाबले मात्र उनीहरु काँग्रेस भन्दा ठुलो बनेका छन्, तर मतदानको दृष्टिकोणले हेर्ने हो भने नेपाली काँग्रेस उनीहरु भन्दा कम छैन ।’ वाम गठबन्धनका कारणले मात्र नेपाली काँग्रेसले चुनाव हारेको नेपाली काँग्रेसका नेता हमालले बताए ।

उनले थपे, ‘यिनीहरुमा जनता प्रतिको आत्म विश्वास हुन्थ्यो, भने नेपाली काँग्रेससँग एक्लै लड्थ्ये र नेपाली काँग्रेसको पुर्ण बहुमत आउँथ्यो ।’ उनीहरुको गठबन्धनको कारणले मात्र नेपाली काँग्रेसले चुनाव हारेको बताए । कोण सभालाई सम्बोधन सहित समापन गर्दै नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति सुनिलनरसिंह राणाले चुनावी परिणामबाट आफुहरु नआत्तिएको बताए । ‘अहिले हामी प्रतिपक्षमा छौं, आउने दिनमा बहुमत ल्याएर पहिलो पार्टी हुन्छौं, देशभर चारतारे झण्डा फहराउँनेछौं,’ उनले भने ।

कार्यबाहक सभापति राणाले नेपाली काँग्रेसकै नेतृत्वमा राणा शासन, पञ्चायत, राजा ज्ञानेन्द्रलाई फालिएको र अब बन्ने वाम सरकारले तलमाथी गरेर शासन चलाएमा यसलाई पनि नेपाली काँग्रेसले फाल्ने चेतावनी दिए । स्थानीय गणेशमान चोकबाट स्वर्गिय नेता गणेशमान सिंहको शालिकमा माल्र्यापन गरेर विजयी रयाली सुरु गरिएको थियो । नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति राणा र नवनिर्वाचित प्रदेश सभा सदस्य हमालले स्वर्गिय गणेशमानको शालिकमा माल्र्यापन गरेका थिए ।

गणेशमान चोकबाट सुर्खेतरोड हुदै निस्केको विजयी रयाली सहिद सेतु बिक चोकमा पुगेर कोण सभा गरिएको थियो । रयालीमा नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता सहभागी भएका थिए । नेपाली काँग्रेसका नेता एवम् ओलम्पियन हमाल हालै सम्पन्न निर्वाचनमा संघिय समाजवादी फोरमका दुर्गेश बैश्य (गुप्ता)लाई पराजित गरेर विजयी भएका हुन् ।

Womui
Womui