‘वैदेशिक रोजगारीले गराएको’ महिला हिंसा

सावित्री बस्नेत
नेपालगन्ज-वैदेशिक रोजगारीका लागी घर, परिवारलाई चटक्कै छाडेर विदेश पलायन हुने नेपालीको संख्या दिनहुँ बढ्दो अवस्थामा छ । विदेश जाने प्रचलनले हाम्रो समाजमा जरो गाडिसकेको छ । नेपालमा भनेको जस्तो रोजगारी, राम्रो कमाई नहुने सोचका साथ नेपाली नागरिकहरु विदेशतिर आर्कषित भईरहेको देखिन्छ । नेपाली नागरिकमा पनि बढी मात्रामा जवान युवा जसले विवाह गरी १/२ वर्ष भित्रमै विदेश जाने गर्दछन् । विवाह गरेको ऋण तिर्न नसकेर होस्, या परिवारको खर्च चलाउनका लागी किन नहोस्, बैबाहिक सम्बन्ध गाँसेको महिना नपुग्दै विदेश पलायन भएको थुप्रै घटना समाजमा देखिन्छन् । श्रीमान विदेश जाने वित्तिकै अवोध महिलाले परिवारका सदस्यबाट माया पाउँदिनन् । कुनै न कुनै निहुँबाट उनी पारिवारीक हिंसामा पर्छिन् । अनेक शंकाको दृष्टिले उनलाई परिवारले हेर्न थाल्छ ।

त्यति मात्र नभएर विदेशमा रहेको श्रीमानले समेत परिवारका कुरा सुनेर श्रीमतीमाथी तनाव दिन थाल्छन् । परिवार मात्र नभएर समाजले पनि ती महिलालाई गलत नजरले हेर्न थाल्छ । एउटी महिलाले श्रीमानको माया पाउँदिनन् । घर, परिवारबाट पनि तिरस्कृत हुन्छिन् । विवाहित महिलाले आफ्नो पति साथमा हुदाँखेरी घर परिवार र समाजमा जति ईज्जत पाएकी हुन्छिन्, त्यत्तिको इज्जत आफ्ना पति नभएको बेला पाउन किन सक्दिनन् ? इज्जत त टाढाको कुरा हो, परिवार र समाजले बोल्ने तरिका पनि फरक हुन्छ । पति विदेश जाने वित्तिकै उनलाई फरक नजरले गर्ने समाजमा गलत प्रवृत्ति बसिसकेको छ । त्यही समाजको मान्छेहरु श्रीमान अगाडी हुँदा श्रीमतीको, बाल बच्चाको बारेमा राम्रा–राम्रा कुराहरु गर्न, माया गरेको जस्तो गर्न र राम्रो बानी व्यबहार गरेर देखाउँछन् । तर त्यही मान्छेले महिलालाई श्रीमान भएको बेला गलत रुपमा हेर्न, उनको बाल बच्चाहरुलाई दुव्र्यबहार गर्ने हिम्मत गर्दैन् । यस्तो अन्तर, भेदभाव अझैपनि चली आएको छ ।

यदी हाम्रो सामाजिक परिवेश यस्तै रहने हो, भने महिलाहरु घरभित्रै कुण्ठित रहनुपर्ने अवस्था आउन सक्छ । यस्तो भेदभाव, चरित्र देख्नको लागि श्रीमान विदेश नै जानुपर्छ भन्ने छैन किनभने नेपालमै कसै–कसैको श्रीमानको रोजगारले गर्दा आफ्नो परिवारसँग बस्न नसक्ने अवस्था हुन्छ । बैदेशिक रोजगारीमा रहेका कपिपय पुरुषहरु महिनामा एक÷दुई पटक आफ्नो परिवारलाई भेट्न आउने जाने पनि हुन्छन् । ती महिलाले पनि आफ्नो समाजबाट त्यस्तै समस्याहरु भोगिरहेका हुन्छन् तर उनीहरु कम मात्रामा झेलेका हुन्छन् । जो आफ्नो देश छाडेर अर्काको देशमा केही वर्षका लागि गएका हुन्छन्, उनीहरुको श्रीमतीलाई परिवार र त्यस्तो समाजमा बसी आफ्नो जीवन चलाउन गाह्रो हुन्छ । एउटा महिला जसले आफु जन्मे हुर्कको ठाउँ र घर परिवार त्यागेर एउटा पुरुषको विश्वास, भरोसामा परी उसको समाजमा पाईला टेक्छिन् । त्यो समाजले उनलाई मान सम्मान, इज्जत दिदैन भने महिलाले कसरी आत्म शान्ति गर्ने ? पक्कैपनि महिलाको मनमा शान्ति छाउँदैन् । तनावका बीच उनले बाध्य भएर अप्रिय निर्णय लिन पुग्छिन् । के एक महिलाले आफ्नो श्रीमान विना जीवन खुसी साथ बिताउन सक्दैन ? उनले गरेको त्याग, आफ्नो श्रमानमाथी गरेको विश्वास कहाँ जान्छ ? हाम्रो नेपाली समाज नै कस्तो विचित्र खालको छ, जसले श्रीमानदेखी टाढा रहेको महिलालाई नराम्रो दृष्टिले हेर्ने गर्छ ।

के त्यसो भए आफ्नो श्रीमतीको मान-सम्मान र ईज्जतकै लागी प्रत्येक नेपाली युवाहरु रोजगारी नगरेर घरमै बस्नु पर्ने हो त ? नेपालमा बेरोजगारी समस्या ब्याप्त मात्रामा छ । रोजगारीका लागी स्वदेशमा कुनै अवसर छैन । ऋणको भारीले थिचेपछि बाध्य भएपर प्रायः पुरुषहरु श्रीमती, छोराछोरी र आमाबुवालाई छाडेर विदेश जानुपर्ने अवस्था आएको हो । यसलाई नेपाली समाजले राम्रैसँग बुझेको पनि छ । तर, कतिपयले बुझेर पनि बुझ पचाउने प्रवृत्ति रहेको देखिन्छ । हाम्रो समाजले यि र यस्ता साँघुरो सोचलाई नत्याग्दा सम्म अहिले सम्म देशको विकास हुदैन । देश विकास गर्न पहिलो कुरा त समाजमा रहेका गलत सोचको अन्त्य हुनुपर्छ । जब सम्म मानिसको सोच बदल्न सकिदैन, तब सम्म महिलामाथी कुनै न कुन रुपले विभेद भईरहन्छ । संविधानले महिलालाई अधिकार दिएपनि वैदेशिक रोजगारीका कारण पछिल्लो समयमा महिलामाथी हुने गरेका विभेद, दुव्र्यबहार र हिंसाका घटनाले उनीहरुमा अधिकारको अनुभुति दिएको छैन । त्यसकारण महिलालाई अधिकार दिएर मात्र हुदैन, समाजमा ब्याप्त रहेका महिलामाथीका गलत सोच र प्रवृत्तिलाई अन्त्य गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्