अर्जुन ओली
नेपालगन्ज-नेपाली काँग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोईराला चुनाव लड्दै आएको बाँके क्षेत्र नम्बर २ यतिबेला राजनीतिक चर्चाको केन्द्र बन्न पुगेको छ । स्वर्गिय कोईरालाको अनुपस्थितीमा नेपाली काँग्रेसले आफ्नो पार्टीको उम्मेदवार नउठाएको अवस्थामा यसपटकको निर्वाचनमा कस्ले बाजी मार्ला ? भन्ने कौतुहलतालाई अन्ततः संघिय समाजवादी फोरम नेपालका नेता मोहम्मद ईस्तियाक राईले मेटाईदिएका छन् । दुई ठुला गठबन्धनसँग एक्लै भिडेका पुर्वमन्त्री राईले निकटतम प्रतिद्धन्द्धी पशुपतिदयाल मिश्रलाई ५ हजार ६ सय २४ मतको फराकिलो अन्तरले पराजित गरी सबैलाई चकित पारिदिए ।
राईले २१ हजार ५ सय ७५ मत ल्याउँदा नेकपा एमाले र माओबादी केन्द्रको संयुक्त वाम गठबन्धनको समर्थन पाएका मधेशवादी नेता मिश्र १५ हजार ९ सय ५१ मतमा सिमित हुन पुगे । अझ रोचक कुरा त नेपाली काँग्रेस र राप्रपाको गढका रुपमा चिनिने यस क्षेत्रमा दुबै दलका साझा उम्मेदवार ओमप्रकाश आजाद तेस्रो स्थानमै खुम्चिए । सकभर चुनाव जित्ने, यदी नजिते मुख्य प्रतिस्पर्धामा आउने लोकतान्त्रिक गठबन्धनले अनुमान गरिरहेकै अवस्थामा मत गणनाको अन्तिम परिणामबाट राप्रपाका नेता आजादले ११ हजार ६ सय २२ मत प्राप्त गरे । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालिन काँग्रेस सभापति कोईरालालाई जिताएर पठाएका यहाँका बासिन्दाले यसपटक फोरमलाई निर्वाचित गराएपछि राजनीतिक वृत्तमा राई चर्चाको पात्र बन्न पुगेका छन् । मत परिणामपछि यतिबेला सडक, चोक तथा चिया पसलमा राईकै चर्चा चल्ने गरेको छ । यसक्षेत्रबाट कोईराला २०४८, २०५६ र २०७० साल निर्वाचित भएपनि २०५३ र २०६४ को निर्वाचनमा उनको पक्षमा परिणाम आएन् ।
यसक्षेत्रमा २०५३ मा राप्रपा र २०६४ को पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालले कोईरालालाई हराएको थियो । तत्कालिन २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा यसलाई ३ नम्बर कायम गरेपनि नयाँ संविधान घोषणा पछिको नयाँ संरचनाबाट पुनः २ नम्बरमै फर्काइएको छ, भने क्षेत्रफल र जनसंख्याको हिसाबले केही फराकिलो पारिएको छ । हाल नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ बाहेक अन्य सबै वडा तथा डुडुवा गाउँपालिकाका ६ वटै वडा यसक्षेत्रमा परेका छन् । मधेस आन्दोलनबाट एकाएक राजनीतिमा उदाएका राई पहिलो संविधान सभा निर्वाचनमा साविक क्षेत्र नम्बर २ (हालको नरैनापुर र डुडुवा गाउँपालिका) बाट निर्वाचित भएका थिए । मधेस आन्दोलनको रापले तात्तेको उक्त क्षेत्रबाट भारी मतान्तरले उनी पहिलो संविधान सभाको सदस्यमा निर्वाचित भए र फोरमको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्दै श्रम तथा यातायात मन्त्रीको समेत जिम्मेवारी निभाएका थिए ।
दोस्रो संविधान सभा निर्वाचन २०७० पुनः सोही क्षेत्रबाट चुनाव लडेपनि एमालेका उम्मेदवारबाट राई पराजित भएका थिए । पछिल्लो समयमा राजनीतिमा कम र व्यापार व्यवसायमा बढी व्यस्त देखिन्थ्ये, पुर्वमन्त्री राई । मधेसी र मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको साविक २ नम्बरबाट चुनाव लड्दै आएका राईलाई यसपटक चुनाव जित्न ‘फलामको चिउरा चपाए’ सरह थियो ।
एकातिर उनी लड्दै आएको क्षेत्रमा पर्ने सिंगो नरैनापुर गाउँपालिका १ नम्बरमा गाभियो, अर्कोतिर अहिलेको क्षेत्र नम्बर २ उनका लागी नौलो थियो । मधेस केन्द्रित दलबाट चुनाव लडेका कारण क्षेत्र नम्बर २ का मिश्रित मतदातासँग भिजेर भोट ल्याउनु थप चुनौती थियो । देशभर वाम लहर चलेपनि पुर्वमन्त्री राईले आफ्ना सबै चुनौतीको सामना गरी दुबै गठबन्धनका प्रतिस्पर्धीलाई पाखा लगाएर दोस्रो पटक संसदको प्रतिनिधित्व गर्न सफल भएका छन् ।
दुई गठबन्धनलाई पल्टाउने उनी ‘एक्ला हस्ती’ समेत बन्न पुगेका छन् । निर्वाचित भएपछि उनले समग्र बाँके जिल्लाको विकासका लागी कटिवद्ध हुने उद्घोष गरिसकेका छन् । मिश्रित जाती, धर्म र समुदायको बसोबास रहेको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका राईले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै भने, ‘विगतका दिनमा यो क्षेत्रमा जातियता र साम्प्रदायिकताको नाममा राजनीति गर्ने नेता थिए, अब यहाँ जातिय र साम्प्रदायिकताको राजनीति हुनेछैन, विकास र समृद्धिको ढोका खुल्नेछ ।’ क्षेत्र नम्बर २ का हिन्दु, मुस्लिम, सिख र ईसाई लगायत सबै जाति, भाषा र धर्मका समुदायले आफुलाई अमुल्य मत दिएर जिताएको बताए ।
-नागरिक पश्चिमेलीबाट साभार