सुरेन्द्र हमाल : ‘जो क्यान्सरसँग पनि डराएनन्’

265

अर्जुन ओली
नेपालगन्ज-
खेलकुद, राजनीति र समाजसेवामा सर्मपित सुरेन्द्र हमाल शनिबार प्रदेश सभा-२ ‘ख’ बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हमालले ९ हजार २ सय ११ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी संघीय समाजबादी फोरम नेपालका दुर्गेश बैश्य (गुप्ता) ले ८ हजार ४ सय ३२ मत ल्याएका थिए । ओलम्पियन हमालले खेलकुद, राजनीति र समाजसेवाका माध्यममार्फत आफुलाई स्थापित गराए । परिवारका ६ दाजुभाई मध्ये राईलो छोरा हुन्, सुरेन्द्र । नेपालगन्जको घरबारीटोलमा २०१९ सालमा जन्मिएका उनी नेपाली काँग्रेसका सभापति स्वर्गिय रनेन्द्र हमाल(भाईराजा) का राईलो भाई हुन् ।

उनी १३ वर्षको कलिलो उमेरमै खेलकुद क्षेत्रमा प्रवेश गरे, खेलकुदसँगै बिद्यार्थी राजनीतिमा पनि होमिए । खेलकुदमा संघर्ष गर्दाको परिणाम स्वरुप २०३२ सालमा पहिलो पटक टेवुल टेनिस प्रतियोगितामा सहभागिता जनाए । २०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर हमालले पाए । उनको टोली २०३५ मा टेवुल टेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो । त्यसपछि हमालको ध्यान भारत्तोलन खेलतर्फ मोडियो । प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता (२०३८) मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता (२०४०) मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेष्टम्यान(२०४१) मा वेष्ट लिफ्टर भए । सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप(२०४१) मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए ।

हमालले २०४५ देखि २०४७ मा दाङ र नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थिए । यसका साथै भारतको दिल्लीमा आयोजित एशियन खेलकुद(सन् १९८२), लास्एन्जेल्स ओलम्पिक(सन् १९८४) र एशियन गेम बेजिङ(सन् १९९०) मा उनले पोजिसनको लागि डिप्लोमा उपाधी पाएका थिए । नेपालगन्जको प्रतियोगितापछि उनले खेल खेल्न छाडे, तर खेलकुदको विकासका लागि व्यवस्थापकिय रुपमा सहभागी हुदै आएका थिए । उनको योगदान खेलकुदमा मात्र सिमित रहेन् । पारिवारीक पृष्ठभुमीले गर्दा हमाललाई नेपाली काँग्रेसको आर्दश र सिद्धान्तबाट प्रभावित गरायो । राजनीति नै । उनको पारिवारीक पृृष्ठभुमी हो । पञ्चायत कालमा सुरेन्द्रका दाजु स्वर्गिय रणेन्द्र हमाल (भाईराजा) ले लामो समयसम्म नेपाली काँग्रेसको राजनीतिमा योगदान पुरयाएका थिए ।

बिद्यार्थी जीवनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका सुरेन्द्र नेपाल बिद्यार्थी संघको तर्फबाट स्थानीय महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको सचिव हुदै सभापति भएर काम गरे । २०४४ सालमा पार्टीले टिकट दिएपछि स्थानीय चुनाव लडे । ‘पार्टीले आदेश खटाएपछि म वडाको चुनाव लडे, वर्गिय संगठनको चुनाव लडे, युवक संगठनको नगर सभापति भएर काम गरे,’ विगतलाई स्मरण गर्दै हमाल भन्छन् । पढेर जागिर खानुभन्दा पनि उनी राजनीतिलाई सेवकको रुपमा अगाडी बढाउन अग्रसर भए । पार्टीले २०४९ सालमा तत्कालिन नेपालगन्ज नगरपालिकाको उपमेयरको टिकट दियो । ओलम्पियन हमालले नगरपालिकाको उपमेयर जिते र पाँच वर्षसम्म विकास निर्माणको काममा समय बिताए । त्यसपछि पार्टीको विभिन्न पदमा रहेर राजनीति र खेलकुदको व्यवस्थापकिय पक्षलाई सम्हाल्न थाले । रेडक्रसको आजिवन सदस्य समेत रहेका हमालले ३७ औं पटक रक्तदान गरिसकेका छन् । खेलकुद, राजनीति र सामाजिक क्षेत्रमा अग्रनी स्थानमा रहेका हमालले चारवर्ष अघि क्यान्सर जस्तो रोगलाई जित्न धेरै संघर्ष गर्नुपरेको थियो । जसका कारण उनी शारिरीक, आर्थिक, मानसिक रुपले पीडित बन्न पुगे ।

आन्द्राको क्यान्सर भएर मृत्युको मुखमा पुगेका हमाल लामो उपचार पश्चात अन्ततः बाँच्न सफल भए । उनी भन्छन्, ‘मलाई क्यान्सर लागेपनि सबैका माया, सद्भाव प्रेम पाएर मैले क्यान्सरलाई जित्न सफल भएको हुँ, सबैको आत्मबल नपाएको भए सायद म बाँच्न सक्ने थिईन होला ।’ राजनीतिक अस्थिरता र कुनैपनि दलको प्राथमिकतामा खेल क्षेत्र नपर्दा ओझेलमा परेको ओलम्पियन हमाल बताउँछन् । ओलम्पियन हमाल यस्तो व्यक्तित्व हुन्, जसले नेपालकै पहिलो खेलाडीका रुपमा आफ्नो जीवनमा आधारित आत्मकथा लेख्न सफल भए । उनले आफ्नो रगत र पसिना बगेको नेपालगन्जलाई छाडेर कतै गएनन् । राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष जस्तो उच्च पदमा नियुक्त भएपनि उनी प्रायः नेपालगन्जमै बसेर काम गरे । यसक्षेत्रको खेलकुदको पुर्वाधार जोड्न आवश्यक पर्ने बजेट राखेपबाट ल्याउन उनले महत्वपुर्ण भूमिका निभाएका छन् । बाँके, प्रदेश सभा-२ ‘ख’ मा नेपाली काँग्रेसले टिकट दिएपछि राखेपको कोषाध्यक्ष जस्तो पदबाट राजिनामा दिएर उनी चुनावमा होमिएका थिए । ‘मैले राष्ट्रका लागी आफ्नो शक्तिलाई प्रयोग गरे, तपाईहरुको आर्शिवाद र नेपाली जनताको सहयोग, नेपालगन्जबासी सबैको मायाले गर्दा मैले अन्र्तराष्ट्रिय स्तरमा पनि नेपाललाई पदक दिलाउनमा सफल पनि भए,’ हमाल भन्छन् ‘अब म राजनीतिक क्षेत्रबाट नेपालगन्जको समग्र विकास गर्न चाहन्छु ।’

खेलकुद, राजनीतिक र समाजसेवामा गरेको संघर्षलाई प्रदेश सभामा प्रतिनिधित्व गरेपछि व्यवहारमा पुरा गर्ने उनको योजना छ । ‘खेलकुद भनेको पपुलर ठाउँ हो, यो निस्वार्थ पनि हुन्छ , राजनीति पनि निस्वार्थ रुपले लड्नुपर्छ, त्यसकारण मैले जे कुरा सिकेको र भोगेको छु, त्यसलाई व्यवहारमा उतार्न म कटिवद्ध हुनेछु,’ उनले भने । प्रदेश सभा-२ ‘ख’ बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएपछि शनिबार मत गणनास्थल भेरी प्राविधिक शिक्षालय परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले चुनावका बेला मतदाता समक्ष गरेका प्रतिवद्धता पुरा गर्न लागिपर्ने बताए । ऐतिहासिक, धार्मिक तथा सद्भावको शहर नेपालगन्जको सडक, ढल, खेलकुद लगायत क्षेत्रको विकासका लागी आफुले अब राजनीतिक रुपमा पहल गर्ने उनको योजना छ ।

Womui
Womui