बाँके प्रदेश सभा मतगणना : हमाल, यादव, नमुना र आईपी निर्वाचित

149

नेपालगन्ज-बाँकेमा प्रदेश सभा सदस्यको परिणाम धमाधम घोषणा भईरहेको छ । शनिबार बेलुका सम्म जिल्लाका ३ वटा प्रदेशको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ । जस अनुसार प्रदेश सभा–१ ‘क’ मा माओबादी केन्द्रकी कृष्णा केसी ‘नमुना’, प्रदेश सभा–२ ‘क’ मा संघिय समाजवादी फोरम नेपालका विजयबहादुर यादव, प्रदेश सभा–२ ‘ख’ मा नेपाली काँग्रेसका सुरेन्द्र हमाल र प्रदेश सभा–३ ‘क’ मा माओबादी केन्द्रकै ईन्द्रप्रसाद खरेल(आईपी) निर्वाचित भएको मुख्य निर्वाचत अधिकृतको कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रदेश सभा–१ ‘क’ मा निर्वाचित भएकी नमुनाले १३ हजार ४ सय ३६ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १० हजार २ सय ४० मत ल्याएका थिए । नमुना वाम गठबन्धन र बर्मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

यस्तै प्रदेश सभा–२ ‘क’ मा निर्वाचित संघीय समाजवादी फोरम नेपालका यादवले ११ हजार ५ सय ७४ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका निरन्जनसिंह सिजापतिले ७ हजार ७ सय ५० मत ल्याए । सिजापति लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । प्रदेश सभा–२ ‘ख’ मा निर्वाचित नेपाली काँग्रेसका हमालले ९ हजार २ सय ११ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी संघीय समाजबादी फोरम नेपालका दुर्गेश बैश्य (गुप्ता) ले ८ हजार ४ सय ३२ मत ल्याए ।

हमाल लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । यसैगरी प्रदेश सभा–३ क मा निर्वाचित नेकपा माओबादी केन्द्रका खरेलले १६ हजार ६ सय ७४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका चन्तराम थारुले १४ हजार ८ सय ९१ मत ल्याए । खरेल वाम गठबन्धन र थारु लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । यसैबीच बाँकेमा अब प्रदेश सभा–१ ‘ख’ र प्रदेश सभा–३ ‘ख’ को मत परिणाम सार्वजनिक हुन बाँकी छ । दुबै प्रदेश सभाको मत गणना शनिबार बेलुकाबाट सुरु गरिएको छ ।

Womui
Womui