शुभकामना साटासाट गर्दैै कँडेल घरदैलोमा

157

नेपालगन्ज-एकिकृत राप्रपा(राष्ट्रवादी)बाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा उम्मेदवार तेजनारायण कँडेलले शनिबार नेपालगन्ज उपमहानगरपालिकाको गणेशपुर, घरबारीटोल क्षेत्रमा घरदैलो गरेका छन् । मुस्लिम समुदायको महान पर्व मोहम्मद डेको शुभकामना साटासाट गर्दै कँडेलले घरदैलो गरिरहेका छन् ।

मोहम्मद डेको शुभकामना दिदै एकिकृत राप्रपा(राष्ट्रवादी)का केन्द्रिय सह–प्रवक्ता समेत रहेका कँडेलले मोहम्मद डेको अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै चुनावमा आफुलाई भोट हालेर जिताउन अपिल गरे । सो क्रममा कँडेल सहित प्रदेश सभा-२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा-२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता चुनावी घरदैलोमा छन् । दोस्रो चरणको निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । निर्वाचन प्रचार-प्रसारका लागी उम्मेदवारलाई पर्सि सम्मको समय सीमा छ ।

शनिबार पनि बिहानैदेखि बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा उम्मेदवार चुनावी घरदैलोमा खटिएका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा ९ जना जनप्रतिनिधि छान्न १ सय ३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसका लागि २ लाख ७६ हजार ७ सय १८ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । १ सय ३६ मतदानस्थल रहेको बाँकेमा ३ सय २७ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर २ मा करिव ८३ हजार मतदाता रहेका छन् ।

Womui
Womui