लोकतान्त्रिक गठबन्धनलाई जिताउने व्यापारीको प्रतिवद्धता

141

नेपालगन्ज-नेपालगन्जका उद्योगी, व्यवसायीले व्यापार, व्यवसायलाई जोगाउन लोकतान्त्रिक गठबन्धनलाई जिताउने प्रतिवद्धता जनाएका छन् । नेपालगन्जमा शुक्रबार आयोजित बृहत लोकतान्त्रिक व्यवसायीको भेलामा बोल्ने उद्योगी, व्यवसायीले चन्दा आतंक सिर्जना गर्ने वाम गठबन्धनलाई आउँदो चुनावमा समाप्त गर्नुपर्नेमा जोड दिए । वरिष्ठ उद्योगपति प्रमोद जलानले वाम गठबन्धनले चुनाव जितेपछि उद्योग, व्यवसाय चलाउने वातावरण नहुने खतरा रहेको बताए । ‘वाम गठबन्धनबाट आम उद्योगी, व्यवसायीलाई खतरा छ, त्यस्तो खतरा आउन नदिन सबै उद्योगी व्यवसायीहरु यो चुनावमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन सक्रिय हुनुपर्ने बेला आएको छ,’ उनले भने । बाँकेको तीन वटै निर्वाचन क्षेत्र, त्यसमा पनि क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग देश हाँक्ने क्षमता रहेको बताए । ‘त्यसकारण यो गठबन्धनको पवित्रतालाई कायम राख्ने हो, भने जित सुनिश्चित छ,’ उद्योगपति जलानले भने ।

बृहत लोकतान्त्रिक व्यवसायीको भेलामा उपस्थित अतिथी ।

अर्का उद्योगपति रविन्द्रमान श्रेष्ठले वाम गठबन्धनले देशलाई पछाडी फर्काउन खोजेको जिकिर गर्दै देशलाई पछाडी फर्काउन नदिन सम्पूर्ण लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने धारणा राखे । ‘विपक्षी उम्मेदवारका चरित्र र पृष्ठभुमी हेर्ने हो भने उनीहरु लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग सुहाउँदैनन्, हामीसँग राम्रा र क्षमतावान उम्मेदवार हुनुहुन्छ, चुनाव जित्छौं,’ उनले भने । ‘उद्योगी, व्यवसायीहरु डरत्रासका बीच बाँच्ने कि स्वतन्त्र भएर बाँच्ने ?’ श्रेष्ठले प्रश्न गर्दै भने, ‘वाम गठबन्धनले जितेपछि फेरी देशमा भय र त्रास सिर्जना हुन्छ, त्यसको सबैभन्दा बढी मार व्यापारीले खेप्नुपर्छ, त्यसकारण स्वतन्त्र पुर्वक ब्यापार गर्ने हो भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ ।’नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष सुनिलकुमार शर्माले ब्यापारी, व्यवसायी समयमै बुद्धि नपु¥याए सरल र सहज रुपले व्यापार गर्न नपाउने चिन्ता व्यक्त गरे । ‘माओबादी द्धन्द्धको बेला हामी उद्योगी, व्यवसायी मारमा परेका थियौं, अहिले तिनै वामपन्थी दल देशमा साम्यवाद ल्याएर आर्थिक नीतिलाई नियन्त्रणमुखी बनाउन खोज्दैछन्,’ शर्माले भने ‘भविष्यमा उद्योग, व्यवसायको सुरक्षाको लागी हामीहरु लोकतान्त्रिक गठबन्धनलाई जिताउन जरुरी छ ।’

बृहत लोकतान्त्रिक व्यवसायीको भेलामा उपस्थित अतिथी ।

वाम गठबन्धनले उद्योग, व्यवसाय धरापमा पर्ने संकेत देखेर नै नेपालका उद्योगपति विनोद चौधरी जस्ता व्यक्ति लोकतान्त्रिक गठबन्धनलाई जिताउन देश दौडाहामा रहेको बताए । संघका पुर्वमहाचिव विष्णु लामिछानेले चुनावको निहुँमा बाँकेका उद्योगी, व्यवसायीहरुलाई वाम गठबन्धनले मागेर सताएको बताए । ‘हाम्रा उद्योगी, व्यवसायी साथीहरुलाई वाम गठबन्धनले चुनावको नाममा चन्दा मागेर सताईरहेको सूचना पाएका छौं, धेरै व्यवसायीले पीडा व्यक्त गर्न सक्नु भएको छैन,’ उनले भने ‘चुनावमा चन्दा मागेर सताउनेले भोलीका दिनमा झन् कति आतंकित पार्लान् ।’ व्यवसायीसँग वाम गठबन्धनले न्यूनतम ११ हजार भन्दा कम नलिने भन्दै दवाव दिएको लामिछानेले बताए । ‘चन्दाबाट पीडित बन्नु भएका साथीहरुलाई मेरो अनुरोध छ, तपाईहरु यो चुनावमा वाम गठबन्धनलाई पत्तासाप गरौं,’ उनले भने । लोकतान्त्रिक गठबन्धनले अहिले सम्म व्यापारी, व्यवसायीबाट चन्दा नमागेको संघका पुर्वमहासचिव लामिछानेले बताए ।

व्यापारी, व्यवसायीहरु चन्दा आतंकबाट पीडित भईरहेका बेला उद्योग वाणिज्य संघको वर्तमान नेतृत्वले वाम गठबन्धनको प्रतिवाद गर्नुको साटो उल्टै कुम जोडेर हिडिरहेको देख्दा आफुहरु आत्मा रोएको यहाँका उद्योगी व्यवसायी बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर एवम् राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अस्तित्वको लडाई भएको बताए । आफु विगतमा एमालेबाट मेयरमा निर्वाचत भएको प्रसङ्ग निकाल्दै भने, ‘एमाले यस्तो पार्टी रहेछ, उसको नीति नै अरुलाई ठगेर, ढाट्ने र जसरी भएपनि पैसा असुल्ने रहेछ, त्यो जालझेलप्रति चित्त नबुझेर मैले पार्टी छाडेको हुँ ।’ लोकतान्त्रिक गठबन्धनले कसैसँग जवरजस्ती चन्दा माग्ने काम नगरेको उनले बताए । ‘नेपाली काँग्रेस र राप्रपाको सोच र विचार मिल्दोजुल्दो भएका कारण लोकतान्त्रिक गठबन्धन बनेको हो, यो गठबन्धन यसपटकको चुनावका लागी मात्र होईन, भविष्यमा हुने व्यापार संघ लगायत हरेक चुनावमा यो गठबन्धन सक्रिय रहन्छ,’ राणाले भने । उद्योगी, व्यवसायीका हरेक समस्यामा लोकतान्त्रिक गठबन्धन साथमा रहेको बताए । ‘हाम्रो जित सुनिश्चित नै छ, चुनाव सम्म हामी निस्कृय र गलत क्रियाकलापमा फस्नु हुदैन,’ उनले भने ‘अरु पार्टीका उम्मेदवार देख्दै डरलाग्दा रहेको र उम्मेदवारका क्रियाकलाप र पृष्ठभुमी हेरेर जनताले मुल्यांकन गर्ने कुरा हो ।’

काँग्रेस र राप्रपाका असन्तुष्ट कार्यकर्ता पनि अहिले सन्तुष्ट भईसकेको उनको भनाई छ । क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनको किल्ला गाड्न सफल भएपछि नेपालगन्जलाई देशकै नमुना नगरपालिका बनाउने मेयर राणाले उद्घोष गरे । सो अवसरमा बोल्दै लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभा उम्मेदवार ओमप्रकाश आजादले कतैलाई नसताएर आफुहरु चुनाव लडेको बताए । ‘हामी आफ्नो चरित्र बेच्न चाहन्नौं, हामी आर्थिक अभावसँग जुधेर भएपनि चुनाव लडेका छौं, हामी आफ्नो चरित्र बिगार्न चाहन्नौ,’ उनले भने । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कसैलेपनि व्यापारीलाई थर्काएर चन्दा नमागेको बताए । प्रचार–प्रसार गर्ने समय अत्यन्त छोटो भएको र प्रदेश सभा उम्मेदवारको भन्दा आफ्नो क्षेत्र ठुलो भएकाले दुबै ठाउँमा एकैपटक घरदैलो र मतदाता भेटघाट गर्न कठिन भएको बताए । ‘धेरैजसो मतदाताले घरदैलोमा मेरो अनुपस्थिती देख्नु हुन्छ होला, तर, मेरो बाध्यतालाई यहाँहरुले बुझिदिनुहोला, मेरो उपस्थिती भनेको नै लोकतान्त्रिक गठबन्धनका प्रत्येक कार्यकर्ता हुनुहुन्छ,’ उम्मेदवार आजादले भने ।

प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल(पुस्कर)ले उद्योगी, व्यवसायीको हौसलाले चुनाव जित्ने वातावरण तयार हुदै गएको बताए । ‘निर्वाचन लगभग हामीले जितिसकेका छौं, औपचारिक रुपमा घोषणा गर्न मात्रै बाँकी छ,’ उनले भने । व्यापारीको हक अधिकार, मानव अधिकार, बहुलवादमा विश्वास गर्ने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन हमालले आग्रह गरे । व्यापारीको साथ लोकतान्त्रिक गठबन्धनले पाएपछि यसलाई कसैले पनि हराउन नसक्ने ठोकुवा गरे । निर्वाचित भएपछि तीनै जना उम्मेदवारले नेपालगन्जमा प्रादेशिक राजधानी, औद्योगिक शहर बनाउन पहल गर्नुका साथै उद्योगी, व्यवसायीका समस्या र सुरक्षातर्फ सचेत रहने प्रतिवद्धता जनाए । उद्योगी, व्यवसायीका अगुवा गोपालप्रसाद अधिकारीले देश प्रजातान्त्रिक र वामपन्थी धु्रबीकरणमा गईसकेको बताउँदै व्यापारी, व्यवसायीको पुँजी संरक्षणका लागी लोकतान्त्रिक गठबन्धनलाई साथ दिनुपर्ने बताए । ‘मौन अवधी आउनु भन्दा अगाडी सबै उद्योगी, व्यवसायीले लोकतान्त्रिक गठबन्धनको पक्षमा माहोल बनाउन सबैलाई आग्रह गरे । बृहत भेलामा उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, वरिष्ठ उद्योगी चम्पालाल बेथरा, माधव शर्मा, श्याम शर्मा, सतिशकुमार अग्रवाल, सुरेश चन्द, टेकबहादुर खड्का, अमित बस्नेत, राम चपाई, टंक शर्मा, मोहम्मद याकुब अन्सारी लगायत नेपालगन्जका प्रतिष्ठत एवम् अगुवा उद्योगी, व्यवसायीको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

 

Womui
Womui