महेन्द्र बहुमुखी क्याम्पसमा मैले जे देखेँ

251

खेम विष्ट
नेपालगन्ज-महेन्द्र बहुमुखी क्याम्पस मध्य तथा सुदुरपश्चिम क्षेत्रकै चर्चित, प्रतिष्ठित उच्च शिक्षाको लागी शैक्षिक हव हो । त्रिभुवन विश्वविद्यालय भन्दा पुरानो इतिहास बोकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा अवस्थित छ । २०१२ सालमा पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापना भएको नारायण डिग्री कलेज २०१८ सालमा महेन्द्र डिग्री कलेजको नाममा रुपान्तरण भएको थियो । २०२८ सालमा नयाँ शिक्षा लागु भएपछी महेन्द्र डिग्री कलेजको नाम परिवर्तन गरी महेन्द्र बहुमुखी क्याम्पस राखिएको हो । २०६० भन्दा अघि ए गे्रड पाएको क्याम्पस हाल बि गे्रडमा झरेको छ । अझै यसको गुणस्तर खस्किदो अवस्थामा छ ।

 

 

कुरा यही मंसिर महिनाको पहिलो सातातिरको हो । म काम विशेषले क्याम्पस गएको थिएँ । त्यहाँको स्थिती देख्दा मनमा अनेकौं प्रश्न उब्जे । क्याम्पसको क्षेत्रफल पर्याप्त देखिन्छ, तर अब्यवस्थित छ । क्याम्पस हाता भित्रको घाँस र रुख काटछाँट गरिएको छैन । क्याम्पसका भवनहरु फोहोरले भरिएका छन् । सुर्तीजन्य पदार्थ खाएर कक्षा कोठाको भित्ता र कुनामा थुकेका छन् । शौचालयमा गई नसक्नु फोहोर छ, मर्मत सम्भार, सरसफाई र पानीको उचित व्यवस्था छैन । कक्षा कोठा तथा कार्यालयका सिलिङ तथा झ्यालमा माकुराले जालो लगाएको छ । प्राध्यापकको आउने जाने कुनै निश्चितता छैन । बिद्यार्थी संख्या पहिलेको तुलनामा निकै न्युन छ र भएका बिद्यार्थीहरु पनि नियमित छैनन् । कक्षामा शिक्षण नियमित छैन । पुस्तकालय छ, तर अस्तव्यस्त ।

किताब छन्, तर पुराना । हजारौं किताब पुस्तकालयमा छन्, तर त्यसको उचित व्यवस्थापन छैन । जमाना आधुनिक भईसक्यो तर, क्याम्पसमा कुनै आधुनिकरण भएको छैन । कक्षामा मल्टिमिडिया त परको कुरा लेखामा समेत कम्प्यूटर सिष्टम छैन । बिद्यार्थी र शिक्षकका साईकल तथा मोटर साईकल पार्र्किङको कुनै ठाउँ निश्चित छैन । यति हुँदा हुँदै यसको सही व्यवस्थापन कस्ले गर्ने ? कहिले व्यवस्थापन गर्ने ? क्याम्पस व्यवस्थापनले के हेरिराखेको छ ? विभिन्न राजनीतिक दलका बिद्यार्थी भातृ संगठनले के हेरी राखेका छन् ? हरेक बिद्यार्थीले उचित गुणस्तरीय शिक्षा पाउने अधिकार छ, खै अधिकारवादी ? शिक्षा क्षत्रमा कलम चलाउने पत्रकार कहाँ छन् ? त्रिभुवन विश्वविद्यालयले के हेरेर बसेको छ ? शिक्षा मन्त्रालयले अनुगमन कहिले गर्छ ? के क्याम्पस यस्तै हुन्छ ? जवाफ चहियो । क्याम्पसको व्यवस्थापनमा चाँडै सुधार आवास र हरेक बिद्यार्थीले गुणस्तरीय शिक्षा पाउँन् ।

Womui
Womui