घरदैलोको अन्तिम चरणमा आक्रामक प्रचार

43

नेपालगन्ज-चुनाव प्रचार गर्ने समय तीन दिन मात्र बाँकी रहँदा बाँकेमा उम्मेदवारलाई प्रचार-प्रसार गर्न भ्याई नभ्याई भएको छ । मतदातालाई आफ्नो पक्षमा तान्न उम्मेदवारले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पनि जोडतोडले लागी परेका छन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा-१ ख का उम्मेदवार नारायण गौडेलले शुक्रबार कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी क्षेत्रमा घरदैलो गरेको प्रचार-प्रसार सचिवालयका संयोजक भूम भण्डारीले जानकारी दिए ।

प्रदेशसभा-१ क का उम्मेदवार शरदचन्द्र बर्माले बिनौनामा कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा-२ ख का उम्मेदवार सुरेन्द्र हमालले शुक्रबार भवानियापुर, भाटनपुर्वा, गुलामपुर्वामा घरदैलोमा रहेको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले जानकारी दिएका छन् । त्यस्तै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले शुक्रबार दिउँसो नेपालगन्जमा आयोजना गर्ने भेलामा पनि उम्मेदवारहरु सहभागी हुनेछन् । यस्तै शुक्रबार नै नेपालगन्जको वडा नम्बर ११ मा पनि घरदैलो गरिएको छ ।

प्रदेश सभा-२ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिले डडुवा गाउँपालिका वडा नम्बर ६ का विभिन्न गाउँमा घरदैलो गरिरहेका छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ का उम्मेदवार बादसा कुर्मी र प्रदेशसभा-३ क का उम्मेदवार चन्तराम थारुले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरमा बिहान घरदैलो गरेको प्रचार-प्रसार संयोजक प्रकाश शाहीले बताए । यस्तै शुक्रबार दिउँसो बैजनाथ ३ नौवस्तामा वडा भेला आयोजना गरिएको शाहीले जानकारी दिए । प्रदेशसभा-३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहको राधापुरको जलपोखरीमा घरदैलो, जानकी गाउँपालिकाको मानपुर र खजुराको डि गाउँमा भेटघाट गर्दैछन् ।

Womui
Womui