‘बाह्य शक्तिको प्रभावमा हिन्दु राष्ट्र हटाईयो’ : उम्मेदवार कँडेल

63

नेपालगन्ज-एकिकृत राप्रपा(राष्ट्रवादी) का प्रतिनिधि सभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेलले आफ्नो बाह्य शक्तिको प्रभावमा मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र कायम गरिएको बताएका छन् । जेसीजले बिहीबार नेपालगन्जमा गरेको ककस कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता समेत रहेका सशक्त उम्मेदवार कँडेलले विदेशीको ईसारामा बनाइएको धर्म निरपेक्ष राष्ट्रका विरुद्ध नेपाली जनताले यसपटकको चुनावमा हिन्दु राष्ट्रमा फर्काउने दाबी गरे । त्रिभुवन चोकमा आयोजित ‘ककस’ मा उम्मेदवार कँडेलले २०६२/६३ को जनआन्दोलनको उद्देश्य हिन्दुराष्ट्र हटाउनका लागि नभएको स्पष्ट पार्दै ठूला दलहरुले बाह्य शक्तिको प्रभावमा परी मुलुकलाई हिन्दु राष्ट्रको पहिचान गुमाउन खोजेको ठोकुवा गरे ।

उनले भने, ‘मुलुकको पहिचान रक्षाका लागि मेरो उम्मेदवारी जरुरी ठानेर उम्मेदवारी दिएको हुँ ।’ विकास र समृद्धिलाई जोड्न अब युवा नै नेतृत्वमा आउनुपर्ने नेता कँडेलले धारणा राख्दा उपस्थित युवाहरुले ताली बजाएर सर्मथन गरेका थिए । ठूला पार्टीहरुले अहिलेसम्म नेपालगन्जको विकासका लागि के–के गरे ? उनले प्रश्न गर्दै भने–‘ढलको समस्या उस्तै, हिउँद याममा सडक धुलाम्य र बर्षायाममा हिलाम्य हुन्छ यही हो त विकास ?’ यस पटकको चुनावमा एकिकृत राप्रपा (राष्ट्रवादी) लाई हिन्दु राष्ट्रका पक्षधरले भोट दिएर जिताउने विश्वास गरे । सो क्रममा कँडेलको प्रस्तुति प्रति धेरैले मौन समर्थन जनाएका थिए । मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनका लागी कँडेलले सर्मथन जुटाउँदैछन् । चुनावी अभियानकै क्रममा बिहीबार कँडेललाई ब्रम्हकुमारीले जितको अग्रिम शुभकामना दिए ।

नेपालगन्जको ओम शान्तिमार्गमा रहेको ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालयमा रहेका ब्रम्हकुमारीहरुले यसपटकको चुनावमा कँडेललाई जसरी भएपनि सहयोग गर्ने प्रतिवद्धता जनाउँदै विजयी भएको आफुहरुले हेर्न चाहेको बताएका थिए । ब्रम्हकुमारी दुर्गा दिदीले एकिकृत राप्रपा(राष्ट्रवादी)ले बोकेको एजेण्डा र विचारमा सहमती जनाउँदै भनिन्, ‘हाम्रो र तपाईहरुको सिद्धान्त लगभग मिल्दो जुल्दो छन्, हामी सबै दिदी बहिनीको साथ तपाईलाई हुनेछ, तपाई विजयी भएको हेर्न चाहेका छौं ।’ ब्रम्हकुमारी ईश्वरी विश्वबिद्यालयमा २ हजार भन्दा बढी ब्रम्हकुमारी आवद्ध छन् । उनीहरु सबैलाई युवा नेता कँडेलको पक्षमा मतदान गर्न आग्रह गर्ने दुर्गा दिदीले प्रतिवद्धता जनाएकी थिईन् । ‘ब्रम्हकुमारी दिदी बहिनीहरुको आर्शिवादले म निकै उत्साहित भएको छु, यसले चुनाव जित्ने आधार खडा भएको छ,’ एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता समेत रहेका उम्मेदवार कँडेलले भने ।

सो क्रममा उम्मेदवार कँडेलले चुनावी एजेण्डा सहित आफ्ना धारणा राखेका थिए । त्यस अवसरमा करिव ७५ जना ब्रम्हकुमारीहरुको सहभागिता रहेको थियो । प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेललाई फुलटेक्रा, डिएसपी रोड लगायत क्षेत्रका बासिन्दाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । घरदैलोका क्रममा कँडेलको उम्मेदवारीप्रति अधिकांस मतदाताले सकारात्मक जवाफ दिदै यसपटक सहयोग गर्ने वचन दिएका हुन् । घरदैलोमा बिहीबार पनि प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत सहभागी भएका थिए ।

 

Womui
Womui