डुबान समस्यालाई उच्च प्राथमिकता दिने हमालको प्रतिवद्धता

124

नेपालगन्ज-नेपालगन्जको बौद्धगुम्बा क्षेत्रका मतदाताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका छन् । उक्त गठबन्धनबाट प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल सहित नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताले मंगलबार बिहान घरदैलो गर्ने क्रममा बौद्धगुम्बा क्षेत्रका मतदाताले लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र विकासका लागी लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सो क्रममा मतदातालाई आग्रह गर्दै प्रदेश सभा उम्मेदवार हमालले कसैको प्रलोभनमा नपरेर मतदान गर्न आग्रह गरे । ‘चुनावमा भोट हाल्ने अधिकार तपाईंहरुको हो, कस्तो व्यक्तिलाई जिताएपछि देशको समृद्धि र नेपालगन्ज क्षेत्रको विकास हुन्छ भन्ने कुरा तपाईहरुलाई थाहै होला,’ हमालले भने, ‘चुनावमा आफ्नो विवेक प्रयोग गर्नुहोला ।’ विगतमा आफुलाई यहाँका मतदाताले नेपालगन्ज नगरपालिकाको उपमेयरमा जिताएर काम गर्ने अवसर प्रदान गरेको उनले स्मरण गराए ।

आफु निर्वाचित भएपछि नेपालगन्जको डुबान समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न उच्च प्राथमिकता दिने उम्मेदवार हमालको भनाई छ । यस पटकको निर्वाचनमा राप्रपा र नेपाली काँग्रेसबीच लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताउँदै मतदाताले प्रतिनिधी सभा–२ मा राप्रपाको चुनाव चिन्ह गाई र प्रदेश सभा–२ क र ख मा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न उनले अपिल गरे ।

Womui
Womui