‘मैले जुन प्रतिबद्धता जनाइरहेको छु, त्यो पुरा गरेरै छाड्छु’ : पुर्वमन्त्री राई

131

मधेस आन्दोलनको रापले स्थापित भएको तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट पहिलो संविधान सभा निर्वाचन २०६४ मा साविक क्षेत्र नम्बर २ बाट सभासदमा निर्वाचित भएका मोहम्मद ईस्तियाक राई छोटो समय भएपनि मन्त्रीको जिम्मेवारी समेत सम्हाल्न सफल भए । दोस्रो संविधान सभा निर्वाचन २०७० मै पुनः सोही क्षेत्रबाट चुनाव लडेपनि उनले जित दोहोर्याउन सकेनन् । संघिय समाजवादी फोरमबाट पुर्वमन्त्री राई नयाँ संरचना अनुसार बनेको क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका लागी चुनावी मैदानमा उत्रिएका छन् । चुनावको तयारी लगायत विविध विषयमा उनीसँग खगेन्द्र दाहालले गरेको कुराकानी :-

निर्वाचनको तयारी कस्तो छ ?
जनताको माझमा आफ्नो एजेण्डा सहित घरदैलोमा पुग्दैछौं । मैले लगभग ७० प्रतिशत मतदाताको घरमा पुगेर घरदैलो गरिसकेको छु । गाउँको घरदैलो लगभग सकेर नगरको समेत सुरुवात गरेको छु । एक हप्ताभित्र नेपालगन्जका सम्पुर्ण वडामा घरदैलो गर्नेछु ।

आम मतदाता के भन्छन् ?
आम मतदाताको मिश्रित जवाफ आइरहेको छ । तर धेरै जसो मतदाताको चासो भनेको आफ्नो पहिचान आफ्नो अधिकार, आफ्नो प्रतिनिधित्व र स्रोत, साधनमा समान पहुँच हुने की नहुने भन्ने नै निवार्चन प्रसार–प्रचारका क्रममा आम मतदाताले प्रश्न गर्ने गर्नुभएको छ । आम जनताले आफ्नो दैलोमै स्वागत गरिरहनु भएको छ । अधिकांसले जित सुनिश्चत भएको बताउनु भएको छ । यो नेपालबाट उत्पीडित बर्ग जातजाति समुदायको मुद्दा बोकेर हामीलाई पहिचान दिलाउने हाम्रो अधिकारको विषयमा बोल्ने, स्रोत साधन र न्यायमा समान पहुच पुगाउने भन्दै भोट दिने प्रतिवद्धता जनाउनु भएको छ ।

तपाईले उमेदवारी किन दिनुभएको ?
मेरो उमेदवारी भनेको पहिलो त यो संविधान जुन छ, त्यो त्रुटीपुर्ण छ । किनकी अहिले पनि यसमा उत्पीडित बर्गको, जातजातिको स्रोत साधनको र न्यायको उचित सम्बोधन गर्न सकेको छैन । तसर्थ, संविधान संशोधन हुनै पर्छ । र यो संविधान संशोधन मार्फत बिद्यमान संविधानको मर्म अनुसार कानुन संशोधन गरी त्यसमा बर्गको आधारमा, जातिको आधारमा, भाषाको आधारमा, लिंगको आधारमा, क्षेत्रका आधारमा, पहिरन र पोषाकको आधारमा गरिने सबैखाले बिभेदको अन्य गरी एउटा समानता समृद्धि र समुन्नत नेपालको स्थापना गरी उचित न्यायको पहुँच पुर्याउनु नै मुख्य हो ।

निर्वाचनका लागी तपाईको प्रतिबद्धता के हो ?
मलाई जहाँसम्म लागेको छ, सबैले विकास–विकास भनिरहेका छन् । तर, मैले के भन्छु भने अहिले नेपालमा विकास जुन मुद्दा छ, त्यो विकास पुग्ने कसरी त्यता कसैले ध्यान दिएका छैनन् । मैले विकास पुगाउने माध्यमको पहिचान गरेको छु । विगतको संविधानले पनि कसैलाई काखा र पाखा गरेको थिएन् । तरपनि, के थियो भन्दा एउटा क्षेत्रको विकास हुन्थ्यो एउटा जाति, पहिरन, भाषाको विकास हुन्थ्यो, तर समग्र क्षेत्रको विकास त्यसरी सम्भव भएन र हुनपनि सकेन् । तसर्थ, हाम्रो प्रमुख एजेन्डा के–हो भन्दा यो संविधान र अब बन्ने नयाँ कानुनमार्फत प्रत्येक नागरिकको समान पहुँच हुने गरेर स्रोत साधनमा पनि समान अवसर पुग्ने गरी काम गर्ने प्रतिवद्धता जनाउँदछु । नेपालगन्जकै विकासको कुरा गर्ने हो, भने जुन राजनीतिक दलले अहिले सम्म नेतृत्व गरे उनीहरुले नै भेद्भाव पुर्ण तरिकाले विकास गरे नेपालगन्जको । नेपालगन्जमा नयाँ-नयाँ बस्तीलाई विकास गरे । तर, यहाँका मुल रैथाने जो की नेपालगन्ज बसाउन मुख्य योगदान पुर्याए । त्यो क्षेत्रका जनताहरु अहिले पनि नालामा दुर्गन्ध सुघेर बस्न बाध्य छन् । जुन नेपालगन्जको पुरानो क्षेत्र थियो, त्यो कसैले विकास गरेनन् । नेपालगन्जको पहिचान मास्ने काम भइरहेकाले त्यो पहिचान अब मैले जगाउँछु, त्यो क्षेत्रको विकास मैले गर्नेछु । नेपालगन्जको विकासको लागी मैले विशेष पहल गर्नेछु । अन्य उमेदवारले आफुले काम गर्न नसक्ने जस्ता कुरापनि प्रतिवद्धता जनाउँदै आउनु भएको छ । तर म त्यस्तो छैन, जनताले मलाई विश्वास गरेका छन् । मैले नै नेपालगन्जको मुहार फेर्नेछु । नेपालगन्ज नेपालकै एक प्रमुख शहर हो । जो पाँच प्रमुख शहर मध्ये एकमा पर्छ, तर बजेट बाडफाँटमा अहिले नेपालगन्ज पछिको शहर बन्दै गएको छ । म तीन महिने मन्त्रि हुदाँपनि नेपालगन्जको लागी टप पाँच शहरलाई जाने बजेट भित्र्याएको थिए ।

यदी तपाई निर्वाचित हुनुभयो, भने नेपालगन्जमा के-के कुरामा परिवर्तन ल्याउनुहुन्छ ?
अब नेपालगन्जको परिवर्तनको कुरा गर्ने हो, भने एक नम्बरमा यो नेपालगन्जलाई नेपालकै एउटा पुरानो शहरमध्ये टप पाँचमा पर्न जान्छ । यसलाई एउटा एन्टीक शहरका रुपमा विकशित गराउने योजना बनाएको छु । दोस्रो नम्बरमा नेपालगन्जको विकास हुने रोजगारीको सिर्जना हुने होटल व्यवसाय देखी अन्य व्यवसाय चल्ने माध्यम एक अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्नु हो । अर्को विश्वविद्यालय, प्रादेशिक अस्पतालका साथै नेपालगन्जमा रहेको मुस्लिम समुदायमा पर्दा पछाडी बस्ने लाज मान्ने, छोरीहरु बालिक हुँदा पढाउन बन्द गर्ने बाध्यता छ । त्यो अन्य गर्ने गरी मुस्लिम बिश्वविद्यालय स्थापना गर्ने योजना छ । नेपालगन्जमै सँस्कृत, हिन्दी, अवधी पढ्नेका लागी पनि बिद्यालयको व्यवस्थापन गर्ने मेरो योजना छ । नेपालगन्जलाई शुन्दर बनाउन चक्रपथ निर्माण गर्ने गरी काम गर्ने उद्देश्य राखेको छु । अहिले सम्म अन्य उमेदवारले जितेपनि आश्वासन राखेका छन् । त्यो उनीहरुको हैसियत भन्दामाथि छ । मैले जुन प्रतिबद्धता जनाइरहेको छु, त्यो पुरा गरेरै छाड्छु त्यसको लागी एक पटक मलाई जनताले विश्वास गरेर भोट दिनै पर्छ । मैले प्रतिनिधी सभामा जित हासिल गरे, भने म मन्त्री बन्ने प्रचुर सम्भावना छ र मन्त्री भईहाले भने विकास निमार्ण त यही स्थानमा हो मैले गर्ने ।

चुनावका बेला बोलेका प्रतिवद्धतालाई जितेर गएपछि नेताहरुले बिर्सन्छन् भन्ने आरोप छ नि ?
सही हो प्रतिबद्धता पनि यति हुन्छ, कि त्यो पुरा गर्न सक्ने आधार हुदैन । तर, म के भन्छु भने शत प्रतिशत मैले आधारहरु जनतालाई प्रस्ट पारेको छु कि मैले जुन प्रतिबद्धता गरेको छु सोही अनुसार काम पनि पुरा गरेरै छाड्नेछु । जनताले लेखेर राख्दा हुन्छ । म जितेर गएको पाँच बर्ष पछि पुनः यही प्रश्न गर्न पाउनुहुने छैन । किनकी मैले जुन प्रतिबद्धता जनाएको छु, त्यो पाँच बर्षसम्म पुरा गरिसकेको हुनेछु ।

तपाईको प्रतिस्प्रद्धि दल/उमेदवार को हो ?
मेरो प्रतिस्पर्धा कोही पनि छैन । म एक्लो उमेदवार हुँ । मलाई नै जनताले अत्यधिक मत दिएर विजय बनाउने छन् । म पहिले पनि नेपालमै तेस्रो स्थानमा थिए, बढी मत ल्याएर जित्नेमा । यो पटक पनि जनताले मलाई त्यसैगरी जिताउने छन् । एउटा पहिचानको पक्षमा म जुन अडिक भएर लागेको छु, मलाई पुर्ण विश्वास छ । मै जित्छु मेरा कोही प्रतिस्पर्धी छैनन् । देशभर मलाई नै बढी मत दिएर एक नम्बरमा जनताले जिताउँदै छन् ।

अन्त्यमा, आम मतदातालाई के भन्नुहुन्छ ?
म आम मतदातालाई यही भन्छु कि संघियता, लोकतन्त्र, पहिचान, समृद्धि, समानता, विकास, न्यायको समान पहुँच, आर्थिक स्रोत साधनमा समान पहुँचका निम्ति र जोस जाँगर भएका युवा सबै आम मतदातालाई मेरो अपिल छ । मसाल चुनाव चिन्हमा आफ्नो अमुल्य मत दिनुहोला । तपाईहरुको मतको कदर गर्नेछु । आम मतदाताको आशालाई निराशामा बदल्न दिने छैन ।

Womui
Womui