लोकतान्त्रिक गठबन्धनलाई जिताउने मुस्लिम समुदायको प्रतिवद्धता

101

नेपालगन्ज-प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने नेपालगन्जका मुस्लिम समुदायले प्रतिवद्धता जनाएका छन् । क्षेत्र नम्बर २ को नेपालगन्जस्थित भट्टीटोल क्षेत्रका मुस्लिम समुदायले शनिबार आफुहरुले लोकतान्त्रिक गठबन्धन बाहेक अरुलाई भोट नदिने बताए । ठुलो संख्यामा उपस्थित भएका मुस्लिम समुदायका अगुवाले आफुहरुले विगतमा पनि नेपाली काँग्रेस र राप्रपालाई भोट दिएर जिताएको स्मरण गराए ।

२०७० सालमा पनि तत्कालिन नेपाली काँग्रेसका सभापति सुशिल कोईरालालाई जिताएर पठाएको र देशले संविधान पाएको नेपालगन्जका मुस्लिम अगुवाले बताए । ‘हामीले सुशिल दाईलाई जिताएर पठाएपछि देशले संविधान पायो र नयाँ संविधानले मुस्लिम, मधेसी, दलित, आदीवासी लगायत पिछडिएका समुदायलाई अधिकार प्रदान गरयो,’ एक मुस्लिम अगुवाले भने ‘अहिले त्यही संविधान कार्यान्वयनको चरणमा छ, संविधान कार्यान्वयन गर्नकै लागी पनि यसपटकको चुनावमा नेपाली काँग्रेसले नेतृत्व गर्नुपर्छ ।’ यहाँका मुस्लिम समुदायले प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा–२ ‘ख’ का काँग्रेस उम्मेदवार सुरेन्द्र हमाललाई भोट दिएर जिताउने प्रतिवद्धता जनाएका छन् ।

सो क्रममा उपस्थित भएका प्रदेश सभा उम्मेदवार हमाल लगायत नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता, मुस्लिम समुदायका अगुवा लगायतको उपस्थिती रहेको थियो । प्रदेश सभा उम्मेदवार हमालले आफ्नो बाल्यकालको समय मुस्लिम समुदायका साथीहरुसँग बितेको र अहिले पनि थुप्रैसँग पारिवारीक सम्बन्ध रहेको बताए । यसपटकको चुनावमा नेपालगन्जका मुस्लिम समुदायले प्रतिनिधी सभा सदस्य पदमा गाई र प्रदेश सभामा आफुलाई रुख चिन्हमा भोट हालेर सिंगो लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउने विश्वास व्यक्त गरे । घरदैलोमा भेटिएका मुस्लिम समुदायले उम्मेदवार हमालसँग अंकमाल गर्दै जितको लागी अग्रिम शुभकामना पनि दिएका थिए । प्रतिनिधी सभा–२ का उम्मेदवार आजाद कम्दीको घरदैलोमा व्यस्त भएका कारण उनी उपस्थित हुन नसकेको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए ।

Womui
Womui