‘मताधिकार प्रयोग गरी लोकतान्त्रिक संस्कार र मूल्यमान्यताको कदर गरौं‘

155
basanta-raj-adhikari
स्थानीय तह निर्वाचन मिति घोषणासँगै बाँकेमा चुनावी चहलपहल बढेको छ । राजनीतिक दलका नेतादेखि राजनीतिक दल समर्थकहरु चियापसलदेखि घरदैलोमा अासन्न निर्वाचनकै विषयमा छलफल गरिरहेका देखिन्छन् । करिब दुई दसकपछि हुन थालेको स्थानीय तहको निर्वाचनले आम जनतामा उत्साह त थपेकै छ भने अर्कोतर्फ उम्मेदवारीको टिकट लिनेको घुइँचो सम्वद्ध पार्टी कार्यालयमा देख्न सकिन्छ । त्यस्तै निर्वाचनलाई धाँधली एवम् निश्पक्षरहित बनाउन जिल्ला निर्वाचन कार्यालय पनि लागि परेको छ । जिल्ला निर्वाचन कार्यालयले आसन्न निर्वाचनका लागि चलेको कदम र मतदातामा निर्वाचन सम्बन्धी भएको उत्सुकता मेटाउने उद्देश्यले क्षेत्रीय निर्वाचन अधिकृत वसन्तराज अधिकारीसँग छिनछिन खबरले निर्वाचनबारे गरेको कुराकानी ।
बाँकेमा कति दल दर्ता भएका छन् ?
२६ दल
मतदाता संख्या कति छन् ?
२,४६,०७८ जम्मा मतदाता पुरुष १,२५,९३९ [५१.१७%] महिला १,२०,१४१ [४८.८२%] तेस्रो लिङ्गी १ जना
स्थानीय तहको निर्वाचनलाई धाँधलीरहित एवम् निष्पक्षतवरले सम्पन्न गर्न कार्यालयले कस्तो रणनीति
अपनाएको छ ?
निर्वाचनलाई धाँधली रहित निष्पक्ष बनाउन निर्वाचन आयोग, नेपालले : १) फोटो सहितको मतदाता नामावली लागु गरेकोछ जुन सूचना प्रविधि मैत्री छ । २) निर्वाचन सम्बन्धी ऎन नियम कानुन आचारसंहिता जारी गरेको छ । ३) दल दर्ता व्यवस्थित गरेको छ । ४) निर्वाचन आचारसंहिता जारी गरेको छ । ५) निर्वाचन अनुगमन समिति, निर्वाचन पर्यवेक्षण समेतको व्यवस्था गरेको छ ।
 जिल्लामा मतदाता शिक्षा कार्यक्रम कसरी सञ्चालन गर्नु भएको छ ?
 निर्वाचन आयोग, नेपालको कार्यक्रम अनुरुप जिल्लामानिर्वाचन तथा मतदाता शिक्षा सञ्चालन गरिएको छ । जसमा १) जिल्ला विकास समिति अन्तर्गतको सामाजिक परिचालकहरु, जिल्ला शिक्षा कार्यालय अन्तर्गतका बाल विकास केन्द्र (ECD) शिक्षक (महिला) र जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतका स्वास्थ्य स्वयंसेवकहरु जुन माध्यमिक शिक्षा परीक्षा (SEE)  उत्तीर्णलाई आयोगबाट निर्णय गरी जिल्ल्ला तालिम समन्वयकर्ता जिल्ला शिक्षा कार्यालय अन्तर्गतको स्रोत व्यक्ति (RP) समेतको सहयोगमा छनौट गरी क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयका प्रमुख, निर्वाचन कार्यालयका अधिकृत, स्रोत व्यक्ति र माध्यमिक विद्यालयका सामाजिक शिक्षा (महिला) जसले आयोगबाटै आर टट लिनु भएको छ जिल्लाको प्रत्येक केन्द्र बाँके जिल्लामा १३४ मतदान स्थलका ३११ केन्द्रका निर्वाचन शिक्षा कार्यकर्ता स्वयंसेवकहरुलाई स्थानीय तह निर्वाचन २०७४ को कानुनी व्यवस्था, आचारसंहिता, मतदान प्रक्रिया, नमुना मतदान अभ्यास समेतमा प्रशिक्षण दिई वैशाख १ देखि मतदानको समयसम्म १ महिनाका लागि नियुक्ति दिई शपथ ग्रहण गराई सेवा सुविधासहित निर्वाचन शिक्षा सामग्रीसमेत उपलब्ध गराई प्रत्येक केन्द्रमा खटाइएको छ । उहाँहरुको सुपरीवेक्षक वडा सचिव र गाउँपालिका र नगरपालिकाका कार्यकारी अधिकृतहरुलाई स्थानीय समन्वयकर्ताको रुपमा तोकिएको छ ।
फर्जी मत घटाउन मतदाता शिक्षाले कस्तो भूमिका निर्वाह गर्ला ?
फर्जी मत भन्दा पनि मतदाताले मतदान गरेको बदर मतको प्रतिशत न्यून गर्न मतदाता शिक्षा नै एक मात्र सशक्त एवम् प्रभावकारी उपाय हो । विगत संविधानसभा दोस्रो २०७० को निर्वाचनमा समानुपातिकतर्फको चार र पहिलो हुने निर्वाचित हुने ५.५ वा साढे पाँच प्रतिशतलाई न्यून गर्न प्रभावकारी उपाय मतदाता शिक्षा हो । स्थानीय तहको निर्वाचनको आवश्यकता, विधि प्रक्रिया संविधान प्रदत्त नागरिक हक अधिकारको उपयोग गरी असल र जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्न निर्वाचन तथा मतदाता शिक्षा अत्यन्त प्रभावकारी रहेको छ ।
मतदाता परिचय पत्र संविधान सभाको चुनावकै जस्तो आउँछ कि स्तरीय आउँछ ?
मतदाता परिचय पत्र निर्वाचन आयोगले आयोगकै परिसरमा छापिरहेको छ । हिमाली र पहाडी जिल्लामा पहिलो प्राथमिकता र त्यसपछि तराईका जिल्लाको छाप्दै छ । प्रति परिचय पत्र १० रुपैयाँको लागत पर्ने परिचयपत्र विगतको भन्दा सामान्य स्तरीय प्लास्टिक कोट रहने निर्वाचन आयोगबाट जानकारी प्राप्त भएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरे के कस्तो सजायको व्यवस्था छ ?
निर्वाचन आचारसंहिता उल्लंघन गरे उम्मेदवारको उम्मेदवारी बदर हुने देखि एक लाखसम्म जरिवानाको व्यवस्थाका तत्काल निर्णय गरी उल्लंघन हुनबाट रोक्ने कसुरको मात्रा बमोजिम निर्वाचन कसुर तथा दण्ड सजाय ऎन, २०७३ आकर्षित हुने व्यवस्थासमेत रहेको छ ।
आचारसंहिता उल्लङ्घन गरेका उजुरी कार्यालयमा आएका छन् कि छैनन् ? आएको भए कस्ता किसिमका आएका
छन् ?
आचारसंहिता उल्लंघन गरेको उजुरी आएका छन् । जुन जनस्वास्थ्य कार्यालयले कर्मचारी भर्ना गरेको, कोहलपुर नगरपालिकाका लागि लोक सेवा आयोगबाट सञ्चालन गरिएका परीक्षाका सम्बन्धका लिखित उजुरीहरु श्री निर्वाचन आयोगको कानुन शाखामा पठाएका छौं । जुन अनुसन्धान तथा छानबिनको दायरामा छन् । यसका अतिरिक्त मौखिक अन्य उजुरी तथा गुनासाहरु निगरानीमा समेत रहेका छन् । मूलतः आयोग स्वयम्, क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयहरू, निर्वाचन आयोग अन्तर्गतका क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयहरू यस सम्बन्धमा सक्रियतापूर्वक कृयाशील रहेका छन् ।
साबिक र हालको ठेगाना फरक पर्दा मतदाता अन्योलमा छन् । त्यसको निवारणका लागि कार्यालयले कस्तो प्रक्रिय थालेको छ ?
 साबिक र हालको ठेगाना फरक पर्दा मतदाता अन्योलमा छन् भन्ने हजुरको सवालको तात्पर्य तत्कालीन र हाल विघटन भएको गाउँ विकास समिति र नगरपालिकाको वडा वा ठेगानाको कुरो गर्नु भएको हो भने आयोगबाट प्राप्त हुने नयाँ मतदाता परिचयपत्रमा हाल परिवर्तन भएको गाउँपालिका र नगरपालिकाको अद्यावधिक ठेगानाबाट परिचयपत्र छापिने तयारी भएकोले सामान्य नागरिक मतदाता यस विषयमा द्विविधा हुनु पर्ने कुनै कारण छैन । यो निर्वाचन स्थानीय तहको हुँदा परिवर्तनलाई आत्मसात् गरौं ।
अन्त्यमा मतदातालाई के सूचना दिन चाहनुहुन्छ ?
सम्पूर्ण मतदाता नागरिकहरुमा हार्दिक अपिल गर्दछुकी ऎतिहासिक निर्वाचन र राज्यपुनर्संरचना पश्चातको निर्वाचनमा सम्पूर्ण आमा, बुबा, दाजुभाइ दिदीबहिनीहरुले आफ्नो अमूल्य मतको प्रयोग गरी राष्ट्र निर्माण, संविधानको कार्यान्वयनमा असल एवम् जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नु भै लोकतान्त्रिक संस्कार र मूल्यमान्यताको कदर गर्नु हुन्छ भन्नेमा म निर्वाचन आयोगको एक जिम्मेवार र कर्तव्यनिष्ट अधिकृत ढुक्क एवम् विश्वस्त रहेको छु ।
Womui
Womui