स्थानीय निर्वाचन प्रचारप्रसारका लागि का‌ंग्रेसले सबै तहमा समिति गठन गर्ने

34

काठमाडौं, चैत २८-

nepali-Congressस्थानीय निर्वाचनको प्रचारप्रसारका लागि नेपाली कांग्रेसले आगामी वैशाख २ गतेभित्र ७४४ तहमै प्रचारप्रसार समिति गठन गरिसक्ने भएको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको आज बसेको बैठकले यही चैत ३१ गतेभित्र अनिवार्य रुपमा सबै जिल्लामा प्रचारप्रसार समिति गठन गर्न परिपत्र गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

उक्त समिति गठन गर्दा जिल्लास्थित पार्टीको जिल्ला प्रचार विभाग प्रमुखको संयोजकत्वमा, नेपाल प्रेस युनियनको अध्यक्ष वा युनियनले तोकेको प्रतिनिधिलाई सहसंयोजक बनाउन निर्देशन दिइएको छ।

जिल्ला प्रचारप्रसार समितिलाई आगामी वैशाख २ गतेभित्र जिल्लाभित्रको सबै स्थानीय तहमा प्रचारप्रसार समिति गठन गर्न पार्टीले निर्देशन दिएको छ। समिति गठन भएको जानकारीसहितको सम्पूर्ण विवरण वैशाख ३ गतेभित्र केन्द्रीय प्रचारप्रसार समितिमा पठाउनुपर्ने समितिको निर्णय छ।

त्यस्तै पार्टीले प्रत्येक स्थानीय तहको आफ्नो छुट्टै घोषणापत्र अनिवार्य रुपमा बनाउनुपर्ने निर्देशन दिएको छ। स्थानीय प्रचार समितिलाई आफ्नो स्थानमा भएको निर्वाचन अभियान र गतिविधिको प्रचारप्रसारका लागि स्थानीय सञ्चारमाध्यम (टिभी, रेडियो, अनलाइन, पत्रपत्रिका) लाई प्रत्येक कार्यक्रमको सूचना र समन्वय गर्ने तथा राष्ट्रिय सञ्चारमाध्यमा दिनुपर्ने समाचारका लागि तत्कालै केन्द्रीय मिडिया सेन्टरलाई समेत उपलब्ध गराउन निर्देशन दिइएको छ।

स्थानीय प्रचार समितिले पार्टीका कार्यक्रम, उम्मेदवारका व्यक्तित्व र योगदानबारे आधिकारिक धारणा उपलब्ध गराउने र पार्टी, भ्रातृसंस्था, शुभेच्छुक संस्थाका प्रतिनिधिमार्फत त्यसको प्रचारप्रसार गर्ने व्यवस्था गर्नुपर्नेछ।

Womui
Womui