निर्वाचनमा भाग लिन असन्तुष्ट पक्षलाई ओलीको आग्रह

49

पोखरा, चैत १८-

KP oli
कसैको भ्रममा नपरी निर्वाचनमा भाग लिन असन्तुष्ट पक्षसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । पोखराको चिप्लेढुङ्गामा एमाले काकस्कीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको उत्साहले जनतालाई जागरुक बनाइसकेकाले निर्वाचन कसैको चाहनाले नरोकिने बताउँदै असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी हुन अाग्रह गरेका हुन् । लामो समयपश्चात हुन लागेको निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने भन्दै उनले देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकार र सबै राजनीतिक दलले सोच्नु पर्ने बेला आएको धारणा राखे ।

एक वर्षअघि आफूले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काममा ढिलाइ भएकोमा चिन्ता व्यक्त गर्दै ओलीले विमानस्थल निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरे। उनले केरुङ–काठमाडौँ–पोखरा रेलमार्ग निर्माण, सबै राजमार्गलाई चार लेनको बनाउन र फेवा, रुपा, बेगनासलगायत सवै तालको संरक्षणमा आफूले विशेष पहल गर्नेसमेत आश्वासन दिए।

सो अवसरमा अध्यक्ष ओलीले विभिन्न दल परित्याग गर्ने करिब एक हजार तीन सयलाई टीका लगाई पार्टी प्रवेश गराए।

Womui
Womui