किसानको प्रश्न : ‘धान खरिद गर्न किन ढिलाई ?’

75

नेपालगन्ज, मंसिर १२-
बाँके, बेलहरीका किसान होमराज कुर्मी यतिखेर धान बेच्ने सुरसारमा छन् । तर, उनी बजार मुल्यप्रति सन्तुष्ट छैनन् । बजार मुल्य भन्दा खाद्य संस्थानले केही महंगो मुल्यमा खरिद गर्ने भएपनि अहिले सम्म संस्थानले कुनै तयारी गरेको छैन । यसले गर्दा उनी अन्यौलमा छन् । कुर्मीले भने, ‘खाद्य संस्थानले अहिले सम्म धान किन्ने सुरसार नै गरेको छैन, व्यापारी कहाँ जादाँ सस्तोमा लिन खोज्छन् ।’ उनले हरेक वर्ष करिव २५ कठ्ठा जमिनमा धान खेती गर्छन् । गएको सिजनमा करिव ३० क्वीन्टल धान फलाएका छन् ।

खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जको गोदाम ।
खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जको गोदाम ।

कुर्मी जस्ता थुपै्र किसानले यही समस्या खेपिरहेका छन् । खाद्य संस्थानले धान खरिदमा ढिलाई गर्दा किसानहरु धमाधम व्यापारीलाई सस्तो मुल्यमा विक्री गर्न बाध्य छन् । किसानसँग व्यापारीले मोटा धान प्रति क्वीन्टल १८ सय ५० देखि १८ सय १९ सय र मध्यम खालको धान १९ सय देखि १९ सय ५० रुपैयाँमा विक्री गरिरहेको पाइएको छ । घरको खर्च धान्न र हिउँदे बालीका लागी आवश्यक पर्ने बीउ तथा मल खरिद गर्न आर्थिक समस्या भएपछि सस्तो मुल्यमा धान विक्री गर्न किसानलाई बाध्यता भएको हो । यहाँका किसानले गतवर्षपनि व्यापारीलाई मोटा धान प्रति क्वीन्टल १८ सय देखि १८ सय ५० तथा मध्यम धान १९ सय देखि १९ सय ५० रुपैयाँ सम्म विक्री गरेका थिए । हरेक बस्तुमा महंगी बढेपनि धानको मुल्य नबढेकोमा किसानहरु चिन्तित छन् ।

बाँके, खजुरा डि गाउँका किसान सिताराम पौडेलले खाद्य संस्थानले धान खरिद गर्न किन ढिलाई गरिरहेको छ यसबारे आम किसानहरु जान्न इच्छुक रहेको बताए । हरेक वर्ष बजारमा एउटै मुल्यमा धान बेच्नुपर्ने बाध्यता रहेको सुनाउँदै भने, ‘सबै चिजको मुल्य बढ्छ, तर हाम्रो उत्पादनको मुल्य कहिल्यै बढ्दैन, हामीलाई धेरै मर्का परिरहेको छ ।’ पौडेलले यसवर्ष करिव १० क्वीन्टल धान उत्पादन गरेका छन् । खाद्य संस्थानले समयमा खरिद नगर्दा व्यापारीले सस्तो मुल्यमा लिन खोजिरहेको उनले सुनाए । सरकारले केही दिन अघि नै धानको समर्थन मुल्य तोकिसकेको छ । तर जिल्ला स्तरमा खाद्य संस्थानले धान खरिदका लागी कुनै प्रक्रिया अगाडी नबढाउँदा किसानहरु मर्कामा परेका हुन् ।

खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जले यसवर्ष किसानसँग २ हजार मेट्रीक टन धान खरिद गर्ने योजना बनाएको छ । आन्तरिक तयारीमा ढिलाई हुँदा किसानसँग समयमा धान खरिद गर्न नसकिएको खाद्य संस्थान नेपालगन्जका प्रमुख श्रीमणी खनालले बताए । ‘चाडै जिल्ला मुल्य निर्धारण समितिको बैठक बोलाएर बाँके जिल्लाको लागी धानको मुल्य निर्धारण गर्ने सोच बनाएको छु,’ उनले भने ‘आन्तरिक व्यवस्थापकिय समस्याले गर्दा केही ढिलाई भयो ।’

Womui
Womui