वामपन्थी नेता ज्ञवालीको निधन

137

नेपालगन्ज, मंसिर ११-
वामपन्थी आन्दोलनका नेता माधव ज्ञवालीको ८२ वर्षको उमेरमा निधन भएको छ । नेकपा माक्र्सवादीका केन्द्रीय अध्यक्ष ज्ञवालीको शनिवार बिहान २ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा निधन भएको हो । उनको पार्थिक शरीरलाई नेपालगन्ज १३ भृकुटीनगर स्थित निवासमा राखिएको छ । ज्ञवालीको शनिबार दिउँसो राप्ती नदीको सिधनियाघाटमा दाहसंस्कार गरिने छोरा दीपक ज्ञवालीले बताए ।

वामपन्थी आन्दोलनका नेता माधव ज्ञवाली  ।
वामपन्थी आन्दोलनका नेता माधव ज्ञवाली ।

वि.सं. १९९३ असार २० गते बुधवार गुल्मी जिल्लाको बले टक्सार–३ गेंवामा जन्मिएका मधु गुरुको नामबाट चर्चित नेता ज्ञवालीका धर्म पत्नी, चार छोरा र दुई छोरी छन् । पाँच वर्ष अघिदेखि मिर्गौलाको समस्याबाट पीडित ज्ञवालीलाई डाईलासिश गर्न अस्पताल भर्ना गरिएको थियो । २०१३ सालमा वामपन्थी नेता मोहन विक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टीको योङ कम्युनिष्ट लिगबाट कम्युनिष्ट आन्दोलनमा आवद्ध गराएका ज्ञवालीलाई २०२३ सालमा लुम्बिनी अञ्चल सदस्यका रुपमा जिम्मेवारी दिइएको थियो । यस्तै २०२५ लुम्बिनीको अञ्चल कमाण्ड सम्हालेका उनी तेस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएपछि पश्चिम क्षेत्रको जिम्मवारीमा रहेका थिए ।

२०४८ सालमा माक्र्सवादी र नेकपा माले वीचमा एकीकरण गरेर नेकपा एमाले बनेपछि केन्द्रीय सदस्यमा निर्वाचित भए । तत्कालीन एकीकृत पार्टीका अध्यक्ष मनमोहन अधिकारीसँग वैचारिक मतभेद भएपछि २०४९ सालमा नेकपा (माक्र्सवादी) गठन गरेर महासचिव भए । २०३० सालमा गुल्मीबाट बाँकेमा आएर पश्चिम नेपालमा वामपन्थी आन्दोलनलाई विस्तार गर्न क्रियाशील भएका थिए । पार्टी अध्यक्ष प्रभु नारायण चौधरीको निधन पछि २०६६ देखि २०६७ सम्म कार्यवाहक अध्यक्ष हुदै दशौं महाधिवेशन २०६७ देखि हालसम्म निरन्तर पार्टी नेतृत्व सम्हाल्दै आएका थिए ।

Womui
Womui