नेपालगन्ज, असोज १९-
मदिराले लठ्ठिएका एक बर्दीधारी प्रहरीले दिन दहाडै एक सर्वसाधारणलाई निर्घात कुटेका छन् । नेपाल प्रहरीले सर्वसाधारण सँग सम्वन्ध स्थापित गर्न प्रहरी मेरो साथी अभियान देशभर सञ्चालन गरिरहेका बेला नेपालगन्जको नगर भवन क्षेत्रमा प्रहरी हवल्दार पदप शाहीले नेपालगन्ज–१४ निवासी भल्लु खानलाई बुधबार दिउँसो निर्घात कुटपिट गरेका हुन् ।
नेपालगन्जको नगरभवन स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत हवल्दार शाहीले पुरानो रिस साँध्न खानलाई घरबाटै थुतेर ल्याई कुटपिट गरेको प्रत्यक्षदर्शीले जानकारी दिए । बर्दीधारी प्रहरीले मदिरामा लठ्ठिएर अनाहकमा कुटपिट गरेपछि घटनास्थल वरपरका स्थानीय बासिन्दा आक्रोशित भएका छन् । उनीहरुले बिना कारण प्रहरीले निर्दोष व्यक्तिलाई कुटपिट गरेको बताएका छन् । नेपालगन्ज–१४ निवासी बल्लु राईले प्रहरी हवल्दार शाहीले खाना खाइरहेको अवस्थामा खानलाई थुतेर नगर भवनमा ल्याई कुटपिट गरेको बताए । ‘उ रक्सी खाएर फिट थियो, पुरानो रिस साँध्न घरबाटै ल्याएर कुटपिट गरेको हो,’ उनले भने ।
स्थानीय बासिन्दाका अनुसार एक महिना अघि प्रहरी हवल्दार शाही र खानबीच विवाद भएको थियो । मोटरसाईकल चलाएका हवल्दार शाहीले एक रिक्सालाई ठक्कर दिएपछि खान सहित केही युवाले शाहीको गल्ती देखाएका थिए । ‘त्यतिबेलाको रिस आज उसले फेर्न खोज्दा घटना भएको हो, सोधपुछ मात्रै गरेको भए केही फरक पर्ने थिएन, रक्सी नै खाएर कुटपिट गर्दा हामीलाई असह्य भएको हो,’ एक स्थानीय बासिन्दाले भने । पीडित खान सवारी साधनका मजदुर हुन् । उनी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यका गाडी चालक रहेको बुझिएको छ ।
घटनाका पीडित पक्षले पनि दोषीलाई कारबाहीको माग गर्दै प्रहरी अधिकारीको ध्यानाकर्षण गराएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालयको टोली आएर हवल्दार शाहीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी प्रमुख टेकप्रसाद राईले हवल्दारको स्वास्थ्य परिक्षण गराएर विभागिय कारबाहीका लागि हिरासतमा राखिएको बताए । ‘कुटपिटमा संलग्न हवल्दारलाई हिरासतमा थुनेको छु, उ माथि लागेको अभियोग पुष्टी भएमा विभागिय कारबाही हुन्छ,’ राईले भने । कानुन विपरितको काम गर्ने जो कोहीलाई पनि कारबाही हुने उनले बताए ।