‘प्रकोप व्यवस्थापनमा सरकारले चासो दिएन’

59

नेपालगन्ज, असोज १२-
सरकारले प्रकोप व्यवस्थापनमा कुनै चासो नदिएको सरोकारवालाले गुनासो गरेका छन् । सामुदायिक प्रकोप व्यवस्थापन समिति जिल्ला सञ्जाल बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया तथा परिचयात्मक गोष्ठीमा बोल्ने बाढी पीडितले यस्तो बताएका हुन् । सञ्जालका केन्द्रिय अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले सरकारले प्राकृतिक प्रकोप पीडितलाई पुरै बेवास्ता गरेको आरोप लगाए । प्रकोप पीडितलाई न्याय दिनुको साटो सरकारले उल्टो पीडा दिइरहेको उनले बताए ।

prakop

बाँके, फत्तेपुरका बाढी पीडित दुर्गाप्रसाद पाण्डेले बाढी पीडितलाई व्यवस्थापन गर्नुको साटो सरकारले उल्टो घर, टहरामा डोजर चलाउने गरेको भन्दै आक्रोश पोखे । होलियाका बाढी पीडित धु्रब शर्माले प्रकोप व्यवस्थापनका लागि सरकारको कुनैपनि खालको योजना नभएको बताए । ‘जब बाढी आउँछ, त्यसपछि सरकार राहत बाँड्न थाल्छ,’ उनले भने ‘प्रकोपको पुर्व तयारी र प्रकोपपछि के गर्ने भन्ने योजना सरकारसँग छैन ।’ सो अवसरमा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले विपदमा सबैले सहकार्य गर्नुपर्ने बताए । ‘सरकारले एक्लै गरेर मात्र विपद व्यवस्थापन गर्न सम्भव छैन, स्थानीय बासिन्दाले एक्लै गरेर पनि सम्भव छैन, यसका लागि सबैको सहकार्य आवश्यक छ,’ उनले भने ।

जिल्ला वन अधिकृत पुष्पराज बर्तौलाले बाढी पीडितका लागि जिल्ला प्रशासन कार्यालयले निर्णय गर्दैमा जंगलमा बस्न दिन नमिल्ने बताए । ‘स्थानीय प्रशासन होस् या गृहमन्त्रालयले निर्णय गरोस्, वन नीति अनुसार वन क्षेत्रभित्र कसैलाई पनि बस्न दिन मिल्दैन,’ उनले भने । तर, मानविय संवेदनाको हिसाबले कतिपय अवस्थामा बस्न दिने गरिएको बर्तौलाले बताए । सो अवसरमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष डिल्ली गिरी, बाढी पीडित संघर्ष समिति बाँकेका अध्यक्ष तिलक घर्ती, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेल, रेडक्रसका गौरी बुढाथोकी लगायतले बोलेका थिए ।

Womui
Womui