बिद्यार्थी केन्द्रित सिकाई क्रियाकलाप हुन नसकेकोमा चिन्ता

172

नेपालगन्ज, असोज ९–
मुलुकको शिक्षा प्रणालीमा बिद्यार्थी केन्द्रित सिकाई क्रियाकलाप हुन नसकेकोमा सम्वद्ध सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बिद्यार्थी केन्द्रित सिकाई हुन नसकेका बिद्यालयको शैक्षिक अवस्था कमजोर हुने गरेको उनीहरुको भनाई छ । शिक्षा मन्त्रालयको सहकार्य र विश्व शिक्षाको सहयोगमा व्याकवार्ड सोसाइटी एजुकेशन (बेस)ले नेपालगन्जमा आयोजना गरेको दुई दिने शिक्षक सम्मेलनको उद्घाटन शत्रमा बोल्ने बक्ताले यस्तो बताए । क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले मुलुकको शिक्षा प्रणालीमा सिकाई उपलब्धी कम रहेको स्वीकार गरे । ‘बिद्यालयमा शिक्षण गर्दा सामाग्री प्रयोग कम गरिन्छ र बिद्यार्थी केन्द्रित सिकाई क्रियाकलाप छैन,’ उनले भने । शिक्षण सिकाईका लागी मातृ भाषालाई महत्व दिनुपर्ने क्षेत्रीय शिक्षा निर्देशक उपाध्यायको जोड छ ।

शिक्षण सिकाईमा कार्यक्रमले पारेको प्रभावबारे जानकारी गराउँदै सिमा आचार्य ।
शिक्षण सिकाईमा कार्यक्रमले पारेको प्रभावबारे जानकारी गराउँदै सिमा आचार्य ।

सामुदायिक बिद्यालयमा सिकाई उपलब्धीको विकास गर्नमा विश्व शिक्षाले सञ्चालन गरेको परियोजनाले महत्वपुर्ण काम गरेको उनले बताए । बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले एक अर्काबीच सिकाई अनुभव आदान प्रदान गरेमा ठुलो उपलब्ध हुने बताए । ‘एउटा बिद्यालयले गरेको सिकाई उपलब्धीलाई अर्को बिद्यालयमा निरन्तरता दिइनुपर्छ, यसले गर्दा सिकाईको स्तर माथि उठ्छ,’ उनले भने । दाङका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले शिक्षण सिकाई आदान प्रदान गर्न सके बिद्यालयको शैक्षिक अवस्थामा सुधार आउने विश्वास गरे । ‘शिक्षण सिकाईको अभ्यासलाई सरकारले निरन्तरता दिन कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ मैनालीले भने । बर्दियाका शिक्षा अधिकारी जितबहादुर शाहले शिक्षकको बानी व्यवहार राम्रो भएपछि मात्र बिद्यार्थी राम्रो हुने बताउँदै शिक्षक बढी अनुशासित हुनुपर्ने धारणा राखे ।

विश्व शिक्षाका राष्ट्रिय निर्देशक हेलेन शेर्पाले बालबालिकाको सिकाई उपलब्धीका लागी अभिभावक र शिक्षक जिम्मेवार बन्नुपर्ने बताईन् । पछिल्लो समयमा अभिभावक र शिक्षक जिम्मेवार बन्न थालेको उनको भनाई छ । सामुदायिक बिद्यालयमा गरिव तथा विपन्न परिवारका बालबालिकाले पढ्ने भएकाले उनीहरुलाई आय आर्जनमा पनि संलग्न गराउनुपर्ने हेलेनले बताईन् । परियोजनाका कार्यक्रम संयोजक सिमा आचार्यले दाङ र बाँकेका तीन वटा गाविसमा सञ्चालित कार्यक्रम २७ वटा सामुदायिक बिद्यालयमा लागु भएको जानकारी दिईन् । ‘उमेर पुगेका बालबालिकाको शिक्षामा पहुँच पु¥याउनु कार्यक्रमको उद्देश्य हो,’ उनले भनिन् ‘यसका लागी शिक्षकलाई तालिम, घुम्ती बैठक जस्ता गतिविधी गर्दै आएका छौं ।’ कार्यक्रम लागु भएका बिद्यालयमा शिक्षण सिकाईको स्तर र गुणस्तरमा धेरै सुधार भएको आचार्यले जिकिर गरिन् । सो अवसरमा बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी, काठमाडौं विश्व बिद्यालयका सहायक डिन डा. बालचन्द्र लुईटेल, शैक्षिक तालिम केन्द्र दाङका प्रमुख धनबहादुर ओली, शिक्षक महासंघ बाँकेका अध्यक्ष बाबुतरुण गौतम, प्याब्सन दाङका अध्यक्ष यादव योगी लगायतले बोलेका थिए । सम्मेलनमा मध्यपश्चिमको बाँके सहित विभिन्न जिल्लाका शिक्षक तथा सम्वद्ध सरोकारवाला सहभागी छन् ।

Womui
Womui