काठमाडौं, असोज ४-
उपत्यकाका ९ निजी स्कुलमा मंगलबार बिहानै बम राख्ने माओवादी कम्युनिष्ट केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् । माओवादी केन्द्र भन्ने पार्टीका भातृ संगठनका चन्द्रबहादुर तामाङ र शंकरबहादुर लाखेलाई प्रहरीले काठमाडौंस्थित बाैद्धबाट पक्राउ हो । योङ कम्युनिष्ट फोर्स र अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्रले विद्यालयहरुमा बम राखेको उनीहरुले स्वीकारेको प्रहरीले बताएको छ। उनीहरुले राखेका सात बम सेनाको टोलीले निष्क्रिय पारेको छ भने बाँकी कमसल खालका घरेलु बम दुई स्कुलमा पड्केका थिए। बौद्धको आकाशदीप र मनकामना स्कुलमा सिलिण्डर बम पड्किएको प्रहरीले जानकारी गरायो । बम बिष्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनायो ।
पक्राउ परेकाले पूर्व लडाकु रहँदा बम बनाउन सिकेको बताएका छन् । करिब डेढ महिना अघि उक्त समूहले आइडियल मोडेल स्कुलको बस स्वयम्भूमा जलाएका थिए। सो आगजनी पछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेका चन्द्रबहादुर तामाङ, शंकर बहादुर लाखे र मीन देबकोटा करिब तीन साताअघि मात्र तारेखमा छुटेको काठमाडौंका प्रहरी प्रमुख बिक्रम सिंह थापाले बताए। उक्त समूहले गरिब विद्यार्थीले पनि निजी स्कुलमा निःशुल्क पढ्न पाउनुपर्ने लगायतका माग राख्दै आएका छन्। वार्षिक दुई लाख चालीस हजार भन्दा कम कमाई वा २० लाख भन्दा कम अचल सम्पति भएका परिवारका छोराछोरीले निजी स्कुलमा निःशुल्क पढ्न पाउनुपर्ने, निजी र सरकारी बिद्यालयको पाठ्यक्रम एउटै बनाउनुपर्ने तथा निजी स्कुलले पाठ्यक्रम तथा शैक्षिक सामग्री विद्यार्थीलाई बेच्न नपाउने जस्ता माग राखेको छ। प्रहरी भने यो समूहले शैक्षिक सुधारको बहानामा चन्दा आतंक मचाउँदै आएको बताएको छ। तर, बम राख्ने मध्येका बिष्णु पौडेल र मीन देवकोटा यसअघि दुई पटक मानिस अपहरण काण्डमा थुनामा परिसकेको अनुसन्धानमा संग्लग्न एक डिएसपीले बताए।