चार नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव

31

काठमाडौं, भदौ २८-

वाणिज्य मन्त्रालयले कोलकोत्ता र विशाखापट्टम बन्दरगाहाबाट नेपालका ४ मुख्य नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव गरेको छ। रेल सेवा विस्तार गरी बल्क कार्गोमार्फत सामान आयातको व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयमार्फत वाणिज्यले प्रस्ताव पठाएको समाचार आजको कारोबार दैनिकमा छ। तेस्रो मुलुकबाट हुने सामानको ढुवानी बल्क, कार्गो र रेलवे सेवामार्फत सस्तो हुने भएकाले भारतसमक्ष यस्तो प्रस्ताव पठाएको हो। ‘एक साताअघिपरराष्ट्र मन्त्रालयमार्फत भारतका चार नाकामा रेलवे सेवा जोड्ने र बल्क कार्गोमार्फत ढुवानी गर्ने दुई आशयपत्रको प्रस्ताव गरेका छौ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भने,‘प्रधानमन्त्रीको भारत भ्रमणमा पनि यो विषयलाई एजेन्डा बनाउन आग्रह गरेका छौ।’ अहिलेको पारवाहन सन्धिबमोजिम बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगन्ज नाकाबाट मात्र ल्याउन पाउने प्रावधान छ । बल्क कार्गोमा सिमेन्ट, तरकारी, फलफूल र मलमात्रै ल्याउन पाइन्छ । यस्तै, रेलवे सेवा सम्झौताबमोजिम कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलवेमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ । “रेलवे सेवा र बल्क कार्गो एक आपससँग सम्बन्धित छ, किनकि बल्क कार्गो रेलमार्फत मात्र ढुवानी गरिन्छ । एउटा सम्झौता गरेर अर्को भएन भने कुनै अर्थ छैन,” प्रवक्ता सैंजुले भने, “त्यही कारण दुवै एलओई एकैपटक पठाइएको हो ।” कोलकाता र विशाखापट्टनम दुवै बन्दरगाहबाट वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा रेलवे सेवा जोड्ने र बल्क कार्गोमार्फत ढुवानी गर्ने प्रस्ताव गरिएको छ । “अहिले दुवै कोलकाता साथै विशाखपट्टनम बन्दरगाह उपयोग गर्र्ने सम्झौता भइसकेको छ,” उनले भने, “दुई बन्दरगाहबाटै रेलवे र बल्क कार्गोको सुविधा लिन खोजिएको हो ।” भारतको सबै क्षेत्रमा रेलवे सेवाको व्यवस्था पुगिसकेकाले केही पूर्वाधार निर्माण गरे सहजै नाकासम्म रेल आइपुग्नेछ ।” फलाम तथा स्टीलजन्य वस्तु र कोइला पनि बल्क कार्गोमार्फत ल्याउने सुविधा दिनसमेत आग्रह गरिएको छ । “भारतले पनि हामीले पठाइएको एलओई गृहकार्य गर्दै होला,” प्रवक्ता सैंजुले भने, “छिट्टै नै भारतबाट जवाफ आँउछ भन्ने विश्वास छ ।”

Womui
Womui