६ दिने छोरा छोडेर सुत्केरी आमा बेपत्ता

42

दाङ, भदौ २५-

६ दिने दूधे बालकलाई छोडेर एक सुत्केरी आमा बेपत्ता भएकी छिन्। अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालेको ६ दिनमै रोल्पा कोर्चाबाङ४ घापाकी दिलकुमारी बुढामगर बेपत्ता भएकी हुन्। छोरासँगै सुतेकी दिलकुमारी एकाएक बेपत्ता भएपछि पति दिनेश बुढामगर चिन्तित छन्।  प्रसूतिका लागि गृह जिल्लाबाट दाङ झरेका दिलकुमारी सौडियार १ अघरामा बसोबास गर्दै आएका जेठाजुको घरबाट हराएकी हुन्। राति छोरा रोएपछि पति दिनेश व्यूँझिएको बताउँछन्। ‘म ब्यूझँदा रातको पौने एक बजेको थियो । राति करिब १० बजेसँगै सुतेकी पत्नी म ब्यूझँदा थिइनन् ।’ सदरमुकाम लिबाङ स्थित रोल्पा समाचार साप्ताहिकको अफसेट प्रेसमा काम गर्दै आएका उनीहरु सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल रेउघा पुगेका थिए । प्रकाशक मानसिंह बिकका अनुसार ११ भदौमा अस्पताल पुगेका उनीहरुको यहीं प्रसूति हुन नसक्ने भएपछि दिनेश र दिलकुमारी दाङ घोराहीस्थित महेन्द्र उपक्षेत्रीय अस्पतालमा पुगेका थिए । भदौ १३ गते साँझ पौने ६ बजे शल्यक्रियाद्वारा बच्चा निकालिएको अस्पतालको रेकर्डमा उल्लेख छ। दिलकुमारी हराएको भोलिपल्ट घोराहीको प्रहरी कार्यालय, रोल्पाको जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui